पोखरा बचत सहकारी ठगी प्रकरण : नक्कली ऋणी खडा गरेर गरिएको थियो हिनामिना

विजय नेपाल १९ कार्तिक २०८२ २०:५७
10
SHARES
पोखरा बचत सहकारी ठगी प्रकरण : नक्कली ऋणी खडा गरेर गरिएको थियो हिनामिना

पोखरा- पोखरामा एकपछि अर्को सहकारी संकटमा फस्ने क्रममा पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि अछूतो रहेन। सहकारीको झण्डै ९० करोड रुपैयाँ हिनामिना भएको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि प्रहरीले सहकारी अध्यक्षसहित पदाधिकारी र व्यवस्थापक गरी आठ जनालाई नियन्त्रणमा लिएको छ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले दिएको सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन प्रतिवेदन आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले बुधबार उनीहरूलाई पक्राउ गरेको सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेहरूमा पोखरा १०, अमरसिंह चोक निवासी सहकारी अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदार, पोखरा-११, फूलबारी निवासी सहकारी उपाध्यक्ष शम्भुराज बास्तोला, फूलबारीकै सहकारी सचिव दिलबहादुर केसी, पोखरा १४ निवासी सहकारी कोषाध्यक्ष तथा ऋण संयोजक हिरामणि दाहाल, तनहुँको म्याग्दे गाउँपालिका स्थायी घर भइ हाल पोखरा निवासी सहकारी प्रबन्धक भीष्मप्रताप गुरुङ, पोखरा ९, नयाँबजार निवासी सहकारी पूर्वसचिव तथा सञ्चालक इन्द्रप्रसाद द्वा, पोखरा १७ निवासी सहकारी सञ्चालक दोर्जे तामाङ र पोखरा ३, सहकारीका बजार प्रमुख वेदीप्रसाद सुवेदी हुन्।

वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालयले मंगलबार कास्की प्रहरीलाई प्रतिवेदन बुझाइ कानूनी कारबाहीका लागि अनुरोध गरेको थियो। सोही आधारमा तत्कालका लागि मुख्य आरोपितहरू पक्राउ परेका हुन्। अन्य आरोपितहरुको समेत खोजी भइरहेको डिएसपी बस्नेतले जानकारी दिए।

प्रतिवेदनअनुसार सहकारीको ८८ करोड ७० लाख ९८ हजार रुपैयाँ हिनामिना भएको पाइएको छ। सहकारी रजिष्ट्रार भेषराज रिजालका अनुसार अध्ययनका क्रममा सहकारीमा थुप्रै नक्कली ऋणीहरु खडा गरी ठूलो रकम हिनामिना गरिएको भेटिएको छ। उनले भने, ‘ऋणीहरूलाई पनि हामीले छोडेका छैनौं। भाखा नाघेका तथा खराब ऋणीहरू गरी करिब ३ सय जना जति छन्। सहकारी सञ्चालक, पूर्व सञ्चालक, व्यवस्थापक, पदाधिकारी तथा जिम्मेवार पदमा बसेकाहरू गरी करिब ४ सय जना दोषी देखिन्छन्।’

ठूलो रकम हिनामिना गरेका मुख्य दोषीहरू उम्किन सक्ने भएकोले बचत फिर्ता गर्न गाह्रो हुँदा तत्कालका लागि प्रहरीले पनि उनीहरूलाई पक्राउ गरेको रिजाल बताउँछन्। उनका अनुसार ऋणीहरूबाट करिब ३० देखि ३५ करोड उठ्न बाँकी छ। बाँकी रकम अहिले पक्राउ परेकाहरूबाट अनुसन्धानका क्रममा व्यक्तिगत बिगो कायम गरी उठाई मिलापत्र गराउन मात्र सकियो भने पनि समस्या सुल्झिन सक्नेमा उनी आशावादी छन्।

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीमा हाल चार हजार जना बचतकर्ताहरू छन्। पोखरा बचत सहकारीको प्रधान कार्यालय पोखरा-९, नयाँबजारमा छ। सहकारीले पोखरा-१०, अमरसिंह चोक र पोखरा-८, सिर्जनाचोक समेत सेवा केन्द्र सञ्चालन गरेको छ।

स्रोतका अनुसार सहकारीले बचत रकम फिर्ता नगरेपछि दुई वर्षअघि नै रजिष्ट्रार कार्यालयमा उजुरी पर्न थालेको थियो। पछिल्लो समय अलि बढी परेपछि कार्यालयले छानबिन गरेको हो। गत असारमै सञ्चालक समितिलाई मिलाउन समय दिइएको थियो। तर ५ महिना बितिसक्दा समेत समाधान ननिस्केपछि कानुनी कारबाही अघि बढाइएको हो।

सहकारी रजिष्ट्रार रिजाल भन्छन्, ‘कुनै पनि सहकारीले रकम हिनामिना गरे पैसा फिर्ता गर्नैपर्छ। ऋण लिएका तथा कुनै सञ्चालकले कुनै नक्कली ऋणी बनाएको भए त्यो ऋण उसैले तिर्नुपर्छ। यो भनेको त सहकारीको नीतिभित्र पर्ने कुरा हो।’

सञ्चालक समितिमा हालका अध्यक्ष गोदार गत २०७८ मा निर्वाचित भएका थिए। अध्यक्ष गोदार र व्यवस्थापक गुरुङ नेतृत्वको ठगी गिरोहले बिनाधितो ऋण प्रवाह गर्ने, नक्कली खाता खोल्ने तथा सहकारीको नीति नियमविपरीत कमिसन प्रलोभनमा जोखिमपूर्ण लगानी गर्ने गरेको भेटिएको छ।

२०५९ सालमा विजय महर्जनको अध्यक्षमा सहकारी स्थापना भएको थियो। सहकारीको नेतृत्व आशबहादुर गुरुङ र फणिन्द्रराज शर्माले पनि निर्वाह गरिसकेका छन्।

प्रतिवेदनमा सहकारी ऐन, कानुनविपरीत सहकारीको कोष हिनामिना, सञ्चालक समितिका पदाधिकारीहरूको नाममा ऋणीले सम्पत्ति ल्याई दिएको ऋण हिनामिना, सुरक्षण फुकुवा गराई ठगी र सेयर सदस्य तथा ऋणी सहकारीलाई नै ठगी गरी अवैधानिक लाभ उठाएको उल्लेख गरेको छ। कसूरको मात्रा र समयअवधि हेरेर थप कैद सजाय र बिगो भराई सरकारी कोषमा जम्मा गर्न सुझावसमेत दिइएको छ।

सहकारी रजिष्ट्रार कार्यालयले विभिन्न सहकारी संकटमा पर्दै जान थालेपछि सहकारीको अनुगमन गर्ने, रिपोर्ट दिने, निर्देशन दिने, सानोतिनो गल्ती भएकालाई जरिबाना तिराउने काम गर्दै आएको रिजालले बताए। चालु आवमा कार्यालयले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ९६ सहकारीको अनुगमन गरिसकेको उनको भनाइ छ। हाल गण्डकी प्रदेशभर ३ हजार सहकारी छन् भने पोखरा महानगरपालिकाले हेर्न सहकारी करिब ३ सय वटा छन्।

रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणले देशभर तरंग ल्याएको थियो। १८ हजार ७ सय जना बचतकर्ता रहेको सूर्यदर्शनको रकम अपचलन गरेको अभियोगमा ६३ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख बिगो माग दाबी गरिएको छ।

त्यस्तै, पोखरा महानगर मातहत इमेज सहकारी ठगी प्रकरणमा ६५ करोड तथा बलिदानी सहकारीको ११ करोड रकम हिनामिना भएको थियो। पोखराकै बलिदानी सहकारीको पनि रकम हिनामिना भएपछि अदालत छिरेको थियो।

गण्डकी प्रदेशअन्तर्गत पोखरा बचत सहकारी पर्दछ। प्रदेशअन्तर्गतकै मित्रमिलन, प्राइम, विन्ध्यवासिनी, संघर्षशील सहकारीको रकम पनि हिनामिना भएपछि अनुसन्धानका क्रममा छन्।

प्रकाशित: १९ कार्तिक २०८२ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast