किन चर्चामा आइरहन्छन् बाबुराम?

सुजन देवकोटा १९ कार्तिक २०८२ ११:३४
58
SHARES
किन चर्चामा आइरहन्छन् बाबुराम?

आफ्नो अध्ययनको विषयदेखि लिएर राजनीतिमा हुने गरेका विभिन्न उतारचढाबका साथै अर्थमन्त्री वा प्रधानमन्त्री हुँदा उनले गरेका कामलाई लिएर सबैभन्दा बढी चर्चामा आइरहने एक पात्र हुन् डा. बाबुराम भट्टराई।

बाबुराम मात्र एक त्यस्ता नेता हुन् जो न कसैको उक्साहटमा प्रचण्ड जस्तो हौसिएर अनावश्यक कुरा बोलिहाल्छन् न त कसैको आलोचनाले हतोत्साही नै हुन्छन्। सामाजिक सञ्जालमा निकै सक्रिय भट्टराईका विविभन्न पोस्टहरूमा आएका प्रतिक्रिया हेर्दा लाग्छ उनी यति सराप खाएर पनि किन यसरी सञ्जालमा अभ्यस्त बनिरहेका होलान्? यदि उनलाई त्यस्ता सराप लाग्थ्यो भने सायद आज उनी यस धर्तीमा हुँदैन थिए। यही सहनशीलताले नै आज एक्लो भएता पनि उनी यहाँसम्म आइपुग्न सफल भएका छन्।

एक राजनीतिज्ञमा हुनुपर्ने सहनशीलता भट्टराईमा पूर्ण छ। यदि केपी ओली, प्रचण्डजस्ता आफ्नो विपक्षीमा उभिनेलाई सिधै बाइपास गर्ने नीति उनमा पनि हुन्थ्यो भने आज उनको साथमा आफ्नै परिवारका सदस्य पनि बाँकी नरहन सक्थे। पूर्वप्रधानमन्त्री भइसकेका अन्य नेतासँग उनलाई तुलना गर्ने हो भने एउटै विषय पनि मेल खाँदैन।

अरूलाई जस्तो सुरक्षाको डर उनमा देखिँदैन। राजनीतिमा अस्थीरताको आरोप खेप्ने गरेका उनी जीवनमा पनि त्यस्तै छन्। उनी विभिन्न ठाउँका भ्रमणमा निस्किरहन्छन्। यसै क्रममा उनी महिनाको एकपटक आफ्नो गृहजिल्ला गइछाड्छन्। यस्तैयस्तै कारणले नै समकालीन नेताहरूभन्दा बाबुराममा फरकपन भेटिन्छ।

यिनलाई दूरदर्शी नेताको रूपमा पनि लिन सकिन्छ किनकी उनले बोलेका कुरालाई परिस्थितिले पछ्याउँदै आइरहेको हुन्छ। त्यसैको एउटा उदाहरण हो प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था। जुनकुरा उनले संविधान जारी गर्नेबेला नै भनेका थिए। र,अहिले आएर जेनजी पुस्ताले राखेको प्रमुख माग नै यही बन्न पुगेको छ र यो लगभग राष्ट्रिय सहमतिको विषय नै बन्न पुगेको जस्तो देखिन्छ। तर संवैधानिक व्यवस्थाले मात्र यसलाई अड्काएर राखेको छ।

पछिल्लो समय परिवर्तित राजनीतिक घटनाक्रममा समकालीन नेताहरू सबै भागाभाग गरेर ज्यान जोगाउन लागिरहेका बेला भट्टराई कतै गएनन्। सबैका घर जलाइँदा उनको पनि बाँकी रहेन। अरुका घरमा पैसा जेलेको भेटिँदा उनको घरमा किताब मात्र जलेको देखियो।

आफू बस्ने घर जलिरहँदा उनमा पश्चात्ताप थिएन बरु उनी आफूहरूकै कारण आजको अवस्था आएको भन्दै जेनजीहरूको आन्दोलनलाई समर्थन गरिरहे। गत भदौ २४ को अवस्थापछि कुन नेता कहाँ थिए अत्तोपत्तो थिएन तर भट्टराईले सामाजिक सञ्जालमार्फत निरन्तर रूपमा जेनजी पुस्तालाई ऊर्जा थपिरहे र आफूले आजको दिन आउँछ भनेर पहिलेदेखि नै सचेत गराएको कुरा स्मरण गराए।

त्यतिमात्रै होइन भदौ २७ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहण समारोहमा समेत पूर्वप्रधानमन्त्रीको हैसियतमा एक्लो उपस्थित भएर बाबुरामले आफ्नो नैतिकता प्रस्तुत गरे। यसबाट के प्रष्ट हुन्छ भने गल्ती नगर्नेले कोही कसैसँग डरमान्नु पर्दैन।

जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमार्फत राखेका अभिव्यक्तिले होस् या कार्कीको सपथ कार्यक्रममा उपस्थित भएर होस् या सबैभन्दा पहिले आफूले राजनीतिक दलको नेतृत्व परित्याग गरेको कारणले होस् बाबुराम चर्चामै छन्।

मानिस कुनै पोष्ट र पदमा पुग्नका लागि ऊसँग कुनै समूह, संगठन हुनै पर्छ भन्ने मान्यतालाई पछिल्लो पटकको राजनीतिक परिवर्तनले खण्डित गरिदिएयो छ। यदाकदा बाहिर हल्लासमेत चल्न थालेको छ कि वर्तमान सकरकारले चुनाव गराउन सक्ने अवस्था देखिएन भने सम्पूर्ण राजनीतिक दलसहित जेनजीको समेत समर्थनमा बाबुरामलाई प्रधानमन्त्री बनाएर नयाँ चुनावी सरकार बनाउने।

आन्तरिक रूपमा यो कुरा कति सत्य हो थाहा छैन र यसले पनि बाबुरामलाई पुनः एकपटक चर्चामा ल्याइदिएको छ। यसैगरी, शुक्रबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको भेलामा समेत भट्टराईले रवि लामिछानेलाई जेलबाट निकालेर जेनजी पुस्ता र वैकल्पिक शक्तिहरूले समते उनलाई अगाडि सारेर उनैको नेतृत्वमा आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुनुपर्ने भन्ने खालको अभिव्यक्ति दिएका कारण उनी पुनः एकपट चर्चामा पुगेका छन् यद्यपि उनको यो अभिव्यक्तिले भने सकारात्मक सन्देश दिएको देखिँदैन।

प्रकाशित: १९ कार्तिक २०८२ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast