महाधिवेशन प्रतिनिधि चयन गर्न यी हुन् एमालेले टेकेका ७ आधार

हिमाल प्रेस १९ कार्तिक २०८२ ७:२८
6
SHARES
महाधिवेशन प्रतिनिधि चयन गर्न यी हुन् एमालेले टेकेका ७ आधार

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार चयन गरेको छ। अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले आधारहरु मातहतका कमिटीहरुमा पठाएको छ।

मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुने ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशैभरी एकैपटक प्रतिनिधि छनौट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ।

अपानिमा जनाइए अनुसार महाधिवेशन प्रतिनिधि हुनका लागि केन्द्रीय संगठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरणका आधारमा गर्नुपर्ने छ। पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरुले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नु पर्ने अपानिमा जनाइएको छ।

पदेन प्रतिनिधि रहेका आयोजकहरुले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन पाउने छैनन्। बाँकी सबै पार्टी सदस्यहरुले तोकिएको एउटा मात्र क्लस्टरमा सहभागी भएर प्रतिनिधि छनौट गर्ने पाउने एमालेको अपानिमा उल्लेख गरिएको छ।

दलित र श्रमिकको क्लस्टरमा रहेका पार्टी सदस्यहरुको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अगाडी नै सार्वजनिक गर्न एमालेले निर्देशन दिएको छ। यसैगरी जनसंगठनमा रहन चाहने पार्टी सदस्यलाई आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने प्रावधान राखिएको छ।

प्रतिनिधि छनौट गर्दा कुनै विवाद वा अस्पष्टता भएमा केन्द्रीय संगठन विभागमा सम्पर्क गर्न भनिएको छ तर विवादका नाममा आवश्यक भन्दा बढी प्रतिनिधि पठाए विभागले त्यसलाई मान्यता नदिने अपानिमा जनाइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गर्नु भएको अपानि मातहतका कमिटीहरुमा पुग्ने क्रममा रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार अपानि प्राप्त गरिसकेपछि त्यसका आधारमा जिल्ला कमिटीहरुले संघीय निर्वाचन क्षेत्र अनुसारका प्रतिनिधि छनौटको व्यवस्था गर्नेछन् । महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल र विभिन्न क्लस्टर र मनोनित सहित २ हजार १ सय २७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

छनौट भएका प्रतिनिधिले फोटो सहित संगठन विभागले पठाएको ढाँचामा विवरण भरेर केन्द्रीय कार्यालयमा पठाउनु पर्ने अपानिमा उल्लेख गरिएको छ।

प्रकाशित: १९ कार्तिक २०८२ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast