अनलाइन जुवाको प्रचारमा कलाकार र युट्युबर

केशव राना क्षेत्री १९ कार्तिक २०८२ १७:३१
92
SHARES
अनलाइन जुवाको प्रचारमा कलाकार र युट्युबर

काठमाडौँ- अनलाइन बेटिङ (अनलाइनका माध्यमबाट जुवा खेलाउने) को प्रचारप्रसार गरेको आरोपमा दुई वर्षअघि कलाकार, युट्युबरहरू गरी आठ जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ ‘बल्छी धुब्रे’, राजु पौडेल (मास्टर), पवन खतिवडा ‘म्याकुरी’ उर्फ रोशन खतिवडा, अलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली ‘भटभटे माइला’ थिए।

केही दिन हिरासत बसाइपछि उनीहरूलाई काठमाडौँ जिल्ला अदालतले जनही ५ हजार रुपैयाँ धरौटी तिराएर छाड्यो। अहिले फेरि पवन खतिवडासहितका कलाकार अनलाइन बेटिङको प्रचारमा लागेका छन्।

पहिले २० सेकेन्डको बेटिङ गर्न उत्प्रेरित गराइरहेको भिडियो युट्युबमा अपलोड गरेका उनीहरूले अहिले भने भिडियोको डिस्क्रिप्सनमा प्रोमोकोडसहित हाल्न थालेका छन्।

खतिवडाको युट्युब च्यानल ‘द पिके भाइन्स’ मा नेपालमा दर्ता गरिएको र वैधानिक समाचार साइट भनेर लेखिएको छ। त्यसको तल प्रोमोकोड उद्धरण (कोटअनकोट) मा राखिएको छ। त्यसको मुनि राखिएको लिंकमा लेखिएको छ- वानएक्सब्याटस्पोर्टिङडटकम। पवनजस्तै गणेश देवकोटा, जलन घर्तीमगर र कुशल पोखरेलले उही शैलीमा प्रचार गरिरहेका छन्।

यसमा थपिएका छन्, कमेडियन साजन श्रेष्ठ। उनले आफ्नो युट्युब च्यानलमा सोही वेबसाइटको प्रचार गरेका छन्। उनले त भिडियोको बीचमा १५ सेकेन्डको प्रचार सामग्री हालेका छन्। त्यसमा खेलकुदका समाचार तुरुन्तै पाउन वानएक्सब्याट एप डाउनलोड गर्नुहोस् भनिएको छ। त्यसमा प्रोमोकोड ‘साजन’ प्रयोग गर्दा उपहार पाइने दाबी गरिएको छ।

खोजी गर्दै जाँदा त्यसको वेबसाइटमा न कुनै दर्ता नम्बर छ न त ठेगाना। कुन ठाउँबाट चलिरहेको त्यो पनि छैन। साजन श्रेष्ठको भिडियोमा भनेजस्तै खेलका समाचार पनि अद्यावधिक गरिएका छैनन्।

यसअघि पक्राउ पर्दा पवनलगायत सबै कलाकारले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा आफूहरूलाई बेटिङ साइट हो भन्ने थाहा नभएर प्रचार गरेको र कसैलाई सट्टेबाजी गर्न नलगाएको बयान दिएका थिए। उनीहरूले त्यतिबेला ‘वान एक्स बेट’ नाममा प्रचार गरेका थिए। अहिले ‘वान एक्स ब्याट’ नाममा प्रचार गरिएको छ।

यस विषयमा प्रतिक्रिया लिन पवन खतिवडालाई सम्पर्क गर्दा उनको फोन उठेन। यता साजन श्रेष्ठले फोन उठाए पनि आफू व्यस्त भएकाले पछि कल गर्नुहोला भन्दै फोन काटिदिए।

अनलाइन बेटिङको प्रचार यतिमा मात्रै सीमित छैन। खल्ती वालेटसँग मिल्दोजुल्दो नाम राखेर ‘खल्ती८८’ नामक वेबसाइटमार्फत पनि बेटिङ भइरहेको छ।

नेपालमा जुवा तथा अनलाइन बेटिङ गैरकानुनी मानिन्छ। यति हुँदाहुँदै पनि ठूलो संख्यामा प्रयोगकर्ता आकर्षित गर्दै अवैध रूपमा गतिविधि सञ्चालन गरिरहेको पाइएको छ। उक्त वेबसाइटले क्यासिनो, स्पोर्ट्स बेटिङ, इस्पोट्र्स लगायतका खेलमार्फत अनलाइन सट्टेबाजीको सुविधा दिने भनिएको छ।

यसको प्रचारमा पनि इन्फ्लुएन्सरहरू देखिएका छन्। टिकटकर अनु परियार आफैँले भिडियो बनाएर पोस्ट गरेकी छन्। भिडियोमा उनलाई ‘खल्ती८८’ को टिसर्ट लगाएर प्रचार गरेको देख्न सकिन्छ। उनले यसमार्फत सट्टेबाजी गर्न उत्प्रेरित गरिरहेकी छन्। त्यस्तै एमआरबी भ्लग्स भनेर चिनिने विभजंग थापा, राजकुमार थापा पनि अनलाइन जुवाको प्रचारमा छन्। उनीहरूजस्तै अन्य केही युट्युबरहरूले पनि विभिन्न किसिमका जुवाको प्रचार गरिरहेको पाइन्छ।

नेपालमा नेपालीका जुवा पूर्णतः प्रतिबन्ध छ। अझ यसको प्रचारप्रसारमा पनि रोक लगाइएको छ। विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ५ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने उल्लेख छ। साथै उक्त दफाको उपदफा (ढ) मा प्रचलित कानुन प्रतिकूल हुने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ।

यसरी विज्ञापन गरिएको पाइएमा प्रचलित कानुनले सजाय हुने रहेछ भने सोहीअनुसार सजाय गर्नुपर्ने र सो नभएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिबाना गर्नुपर्ने सो ऐनमा उल्लेख छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले अनलाइन बेटिङका विषयमा प्रहरीले अनुसन्धान भइरहेको बताएका छन्। ठगिएकाहरूको उजुरीका आधारमा साइबर ब्युरोले अनुसन्धान र कारबाही गरिरहेको उनको भनाइ छ।

‘नेपालमा जुवा अवैध भएकाले खेल्ने खेलाउने र प्रचारप्रसार गर्नेमाथि पनि कानुनबमोजिम कारबाही हुन्छ,’ उनले भने। प्रहरीले कोही पनि नफसोस् भनेर आफ्नो सामाजिक सञ्जाल, सामुदायिक प्रहरीहरूमार्फत सर्वसाधारण नागरिकलाई सचेत गराएको उनी बताउँछन्।

प्रकाशित: १९ कार्तिक २०८२ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast