काठमाडौँ- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले नयाँ राजनीतिक यात्रा सुरु गरे पनि आफू अध्यक्षको भूमिकामा नबस्ने बताएका छन्।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलनबाट शर्माले ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गरेपछि आफू अध्यक्षको भूमिकामा नबस्ने बताएका हुन्। शर्माले भने, ‘हामी अध्यक्ष र उपाध्यक्ष बन्ने दौडमा छैनौं। अब नयाँ पुस्तालाई अगाडि सार्छौं र प्रचण्डले छोडेको आन्दोलनलाई उनीहरूकै हातबाट अघि बढाउँछौं।’
शर्मासँगै देखिएका नेता राम कार्कीले पनि आफू र जनार्दनले नेतृत्वमा नबसी नयाँ पुस्तालाई स्थापित गर्ने निर्णय गरेको बताए। उनले भने, ‘हामी राजनीति छोडेका होइनौं तर कार्यकारी भूमिकामा बस्दैनौं। हामी २० वटा पार्टीमाझ अर्को पार्टी थप्न आएका होइनौं, नयाँ सोच र शुद्ध राजनीतिक अभ्यास ल्याउन आएका हौं।’



