काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको मूल विचार परित्याग गरी माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्।
प्रचण्ड संयाेजक रहेको नेकपा माओवादी केन्द्रसहित आठ दलबीच हुने भनिएको एकताप्रति असन्तुष्टि जनाउँदै नेता शर्माले मंगलबार ललितपुरमा गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र विशेष महाधिवेशन आयोजक कमिटीले आफ्नो अधिकारभन्दा बाहिर गएर एकताको नाटक गरेको बताए।
‘पार्टीभित्र विधि र पद्धति स्थापना हुन नदिन, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण हुन नदिन र महाधिवेशन टार्न एकताको नाममा गलत अभ्यास भइरहेको छ,’ उनले भने,‘यसरी हुने एकताले न देशलाई निकास दिन्छ न जनताको समर्थन पाउँछ। आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसकेको छ। हजारौँ सदस्यको केन्द्रीय कमिटी बन्दैछ।’
शर्माले माओवादी आन्दोलनको मूल मर्म र सिद्धान्तबाट विचलित नेतृत्वको विरोध गर्दै नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने बताएका छन्।



