इटहरी- इटहरी-धरान चार लेन सडक विस्तार परियोजनाको काम वर्षौँदेखि अल्झिँदै आएको छ। समयमा काम सम्पन्न नगर्ने ठेकेदार र गुणस्तरहीन निर्माण सामग्री प्रयोगका कारण कतिपय भागमा सडक फाट्न थालेको छ भने कतिपय ठाउँमा नालाको ढल निकास अवरुद्ध छ।
विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म निर्माणाधीन ६ लेन सडक ढिलासुस्ती, कमसल काम र ठेकेदारको लापरबाहीको नमुना बनेको हो। इटहरी-धरान सडक खण्डअन्तर्गत चारकोसे झाडी क्षेत्रमा सडकमा ठूला-ठूला खाल्डाखुल्डी बनेर सवारी चलाउन जोखिमपूर्ण भए पनि ठेकेदार कम्पनी रमिता हेरेर बसेको गुनासो स्थानीय बासिन्दाले गरेका छन्।
२०७७ असारमा ठेक्का पाएको हिमडुङ प्यासिफिक ज्वाइन्ट भेन्चर (जेभी) कम्पनीले पटक-पटक म्याद थप्दै आए पनि काम अधुरो छ । ४४.२७५ किमि सडकमध्ये ५ किलोमिटरभन्दा बढी भागमा खाल्डाखुल्डी छ। ठेक्का सम्झौताको म्याद पटक-पटक थपिए पनि कम्पनीले काम रोकेर बसेको सडक कार्यालयका अधिकारीहरू बताउँछन्।
तरहरादेखि धरान जाने सडकखण्डमा सेउती पुलदेखि उत्तरतर्फ सडक निर्माण भइसकेको छ। दक्षिणतर्फ भने ५.३८ किलोमिटर सडकका दर्जनौँ ठाउँमा खाल्डाखुल्डी हुँदा समस्या उत्पन्न भएको छ।
सडक निर्माणमा कमसल सामग्री प्रयोगका कारण निर्माणको गुणस्तरप्रति प्रश्न उठेको छ। सडक योजना कार्यालयले पाँच पटक ताकेता गरे पनि कम्पनीले ‘बर्खा, चाडपर्व र श्रमिक अभाव’ को कारण दिँदै काम टारेको हो। इन्जिनियरहरूका अनुसार उक्त आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशतमा अड्किएको छ।
रानी-विराटनगर-इटहरी-धरान सडक योजना कार्यालय इटहरीका इन्जिनियर शम्भुकुमार मोचीका अनुसार काम चाँडै सक्न पटकपटक पत्राचार गरिए पनि ठेकेदार कम्पनीले चासो नदिएको बताए। ‘हामीले बारम्बार पत्र काटेका छौँ। अघिल्लो असारमै काम सक्ने भनिएको थियो । यो असारमा मात्रै थोरै काम भयो। असारयता काम रोकिएको छ’, इन्जिनियर मोचीले भने, ‘खाल्डाखुल्डी मर्मत गर्न बारम्बार पत्र काटेपछि दुई चरणमा खाल्डाखुल्डी पुरिए पनि फेरि काम रोकिएको छ।’
उक्त सडक निर्माण गर्नेगरी हिमडुङ प्यासिफिक जेभी काठमाडौँले २०७७ असार ५ गते ठेक्का सम्झौता गरेको हो। सम्झौताअनुसार २०८० असार २५ मा सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। पछिल्लोपटक २०८२ असोज ३० गतेसम्म सडक निर्माणको काम सक्नेगरी म्याद थप गरिएको छ।

आयोजनामा कुल ४३ करोड ८६ लाख ४७ हजार १४० रुपैयाँमा ठेक्का लागेको थियो। हालसम्म कम्पनीले २७ करोड ६५ लाख ६ हजार रुपैयाँ भुक्तानी पाइसकेको छ। ‘सार्वजनिक खरिद नियमावली टेकेर म्याद थप भइरहेको हो। अब कालोपत्रेको काम बाँकी छ,’ मोचीले भने। ठेक्का लिएको हिमडुङ कम्पनीले पुनः म्याद थपका लागि निवेदन दिएको छ। वर्षाका समयमा काम नसकिने भएको हुँदा म्याद थपको लागि निवेदन पेस गरेको उल्लेख गरेको छ।
चारकोसे जंगलको सडकको दायाँ-बायाँतर्फ मुख्य सडक ७-५-७-५ मिटरको बन्नेछ। बीचमा तीन मिटर मेडियन, दुवै साइडमा २.५ मिटर खण्ड सोल्जर बन्नेछ। जंगल क्षेत्रमा ४ लेन र सहरी क्षेत्रमा ६ लेनको सडक निर्माण हुनेछ।
चारकोसे क्षेत्रको सडक र मेडियनको भाग पनि अपुरो छ। बीचको भागमा माटो हालेर पुर्न बाँकी छ। जसले दुर्घटनाको जोखिम भएको यात्रु बताउँछन्।
सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएको स्थानीय बासिन्दाको गुनासो छ। इन्जिनियर मोचीले भने, ‘सडक निर्माण भइसके पनि डीभीएम र आसफाल्टले सडक छोप्नुपर्छ। सडकको माथि स्ट्रङ बनाउन अझै बाँकी छ। यसका लागि निर्माण कम्पनीले चाँडै काम गर्नुपर्छ।’
पहिलो चरणमा माटो लगाइने, त्यसपछि ग्राभेल बनाइने र माथिबाट तलतिर कमसल सामग्री प्रयोग गरिने भए पनि अस्फाल्टको लेयर लगाउन बाँकी रहेको उनले बताए। ‘मेडियनको भागमा पनि पुर्न बाँकी रहेको र केही खण्ड बिग्रिएकाले पनि भुक्तानी होल्ड गरिएको छ,’ उनले भने।
असारयता निर्माण कार्य ठप्प रहेपछि सडक कार्यालय इटहरीले पाँच पटक ताकेता गरेको छ। पछिल्लो समय कार्यालय प्रमुख इन्जिनियर नारायणप्रसाद निहुरेले कात्तिक १३ गते पत्र काटेका छन्। ‘यस कार्यालयबाट विभिन्न मितिमा भएका मौखिक तथा लिखित निर्देशनहरू तहाँ जेभीबाट कार्यान्वयन नभएको, हालसम्म पनि निर्माणस्थलमा निर्माण कार्यसम्बन्धी कुनै गतिविधि नदेखिएको, ठेक्का सम्झौताबमोजिमको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको, योजना कार्यालयले दिएको निर्देशन पालना नगरेको, निर्माण भएको कार्यमा भएको त्रुटि सच्याउन दिइएको निर्देशनबमोजिम त्रुटि सच्याउन पहल नगरेको पाइएकोले के कति कारणले निर्माण कार्य हुन नसकेको हो? अब उप्रान्त निर्माण कार्य सम्पन्न गर्न के कस्तो कार्य योजना रहेको छ? सोको स्पष्ट विवरण संलग्न गरी लिखित जवाफसहित सात दिनभित्र यस योजना कार्यालयमा उपस्थित हुनुहुन साथै निर्माण कार्य तत्काल सुरु गरी यथाशीघ्र सम्पन्न गर्नुहुन समेत पुनः निर्देशन गरिन्छ,’ पत्रमा उल्लेख छ।
सात दिनभित्र काम सुरु नगरे सम्झौताका सर्त तथा सार्वजनिक खरिद ऐन/नियमावली (संशोधन समेत) का आधारमा थप कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रमुख निहुरेले बताए। चारकोसेको सडकतर्फ पूर्वी लेनमा अत्यधिक खाल्डाखुल्डी भई सवारीसाधन आवागमन जोखिमपूर्ण रहेको उनले स्वीकारे।
‘दुर्घटनासमेत हुनसक्ने अवस्था रहेको हुँदा अविलम्ब निर्माण कार्य अघि बढाउन र खाल्डाखुल्डीलगायतका त्रुटि सुधार गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘तोकिएको समयावधिभित्रै ठेक्का सम्झौताबमोजिमको निर्माण कार्य सम्पन्न गर्न योजना कार्यालयबाट पटकपटक मौखिक ताकेता गर्दासमेत चासो दिइएको छैन।’
निर्माणको जिम्मा लिएको हिमडुङ प्यासिफिक ज्वाइन्ट भेन्चर (जेभी) का प्रतिनिधि प्रेमकुमार मल्लले चाडपर्व र पानी परेका कारण समस्या भएको प्रतिक्रिया दिए। ‘बर्खाको समयमा पानीले गर्दा काम हुन सकेन। लगत्तै जेनजी आन्दोलन र चाडपर्वले समस्या भयो,’ उनले हिमालप्रेससँग भने, ‘खाल्डाखुल्डी टाल्ने काम सुरु भइसकेको छ।’

उनले कात्तिक अन्तिम सातादेखि निर्माण काम थालिने बताए। अहिले म्याद थपकै चरणमा रहेको र म्याद थप नभए पनि काम नरोकिने उनको जिकिर छ। ‘निर्माणको १५ दिनजतिमा सकिन्छ। हामी अर्को सातादेखि काम सुरु गर्छौँ,’ उनले भने, ‘भारतबाट श्रमिक आउनुपर्ने अवस्था छ। छठ पर्व मानेर मात्रै आउने भनिएका कारण काम गर्न सकिएन।’
ठेक्का सम्झौताको म्याद पटकपटक थप गरिरहने तर निर्माण कार्य रोकिरहने हो? भन्ने प्रश्नमा उनले भने, ‘मेडियनका भागमा माटो पुर्ने काम पनि हुन्छ। धेरैमा अर्को साताबाट काम सुरु गर्छौँ।’
आर्थिक वर्ष २०६९/७० बाट सुरु गरिएको उक्त योजनामा कुल १० अर्ब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। विराटनगरको रानीदेखि धरानको जिरो प्वाइन्टसम्मको ४९ किलोमिटर सडकमध्ये हालसम्म ४४.२७५ किलोमिटर सडकमा ठेक्का लागेर काम भइरहेको छ। जसमध्ये ३२.८४ किलोमिटर सडकखण्ड सम्पन्न भइसकेर सडक डिभिजन विराटनगरलाई हस्तान्तरण गरिएको छ।
सडक निर्माणपछि ‘डिफेक्ट लाइएब्लिटी’ अवधि एक वर्षको हुन्छ। कुनै ठेक्का सम्पन्न भइसकेपछि एक वर्षसम्म सामान्य त्रुटि आएमा ठेकदार कम्पनी नै जिम्मेवार हुन्छ। निर्माणको एक वर्षपछि मात्रै डिभिजनमा हस्तान्तरण गरिने गरिन्छ। कतिपय ठाउँमा सडक निर्माणाधीन छ। धरानको जिरो प्वाइन्टसम्म बन्ने गरी काम थालिए पनि तीनकुने क्षेत्रबाट धरान बजार क्षेत्रमा भने काम अगाडि बढाइएको छैन।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बजार क्षेत्रमा सडक निर्माण नबढाउने जिकिर गरेपछि प्रक्रिया अगाडि बढेको छैन।




