काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारलाई जिल्लाचयन फाराम पेस गर्न सूचना प्रकाशित गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सामोठिमी भक्तपुरको पत्रअनुसार शिक्षक सेवा आयोगले सञ्चालन गरेको खुला प्रतियोगितात्मक परीक्षाबाट सिफारिस भएका उम्मेदवारहरूले आफ्नो रोजाइका आधारमा जिल्लामा पदस्थापन पाउने व्यवस्था मिलाइने निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार उम्मेदवारहरूले यही कात्तिक २३ गतेभित्र कार्यालय समयमै आफ्नो जिल्ला छनोट फाराम निर्देशनालयमा स्वयम् उपस्थित भई वा निर्देशनालयको ईमेल ठेगाना eddsp.edu@gmail.com मार्फत पठाउनुपर्नेछ।
फारामसँगै प्रवेशपत्र, नागरिकता प्रमाणपत्र र अपांगताको हकमा वर्ग खुल्ने परिचयपत्र (क, ख, ग) को प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने निर्देशनालयले स्पष्ट पारेको छ।
निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले तोकिएको म्यादभित्र जिल्ला छनोट फाराम प्राप्त नभएमा बाँकी रहेका जिल्लाका शिक्षक पदमा उम्मेदवारलाई नियमानुसार सिफारिस गरी पठाइने बताए।



