काठमाडौँ- नेपाल राष्ट्र बैंकले दुई अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ। विभिन्न बैंकमा मुद्दती निक्षेपमार्फत लगानी गर्ने तयारी गरिएको हो। राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको दुई अर्ब ६० करोडबराबर रकम वाणिज्य, विकास बैंक र वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।
केन्द्रीय बैंकका अनुसार, ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाणबराबर रकम मुद्दती निक्षेपमा लगानी गरिनेछ । वाणिज्य बैंकमा दुई अर्ब आठ करोड, विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ।
यही नोभेम्बर ९ देखि सन् २०२६ नोभेम्बर ९ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ। निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने छ।
राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने सर्त राष्ट्र बैंकको छ।
निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ।
राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने, भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका निम्ति छुट्ट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ।
उक्त मुद्दती राख्न चाहने बैंक वित्त संस्थालाई यही कात्तिक १८ गते बेलुका ७ बजेभित्र राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ।



