हमास आक्रमणमा निधन भएकाहरूको सम्झनामा काठमाडौँमा स्मृति सभा

हिमाल प्रेस १३ कार्तिक २०८२ १८:०९ | Thursday, October 30, 2025
8
SHARES
हमास आक्रमणमा निधन भएकाहरूको सम्झनामा काठमाडौँमा स्मृति सभा

काठमाडौँ- सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको हमासको आक्रमणमा मृत्यु भएकाहरूको सम्झनामा आज (बिहीबार) काठमाडौँमा स्मृतिसभा गरिएको छ।

सो आक्रमणमा करिब १२०० भन्दा बढी इजरायली र विदेशी नागरिकको मृत्यु भएको थियो, जसमा कृषि प्रशिक्षार्थीका रुपमा इजरायल पुगेका ११ जना नेपाली विद्यार्थीसमेत परेका थिए।

तीमध्ये विपिन जोशीको मृत्यु समाचार दुई वर्षपछि मात्र पुष्टि भएको हो। उनको शव नेपाल ल्याएर अन्त्येष्टि पनि गरिसकिएको छ।

श्रद्धाञ्जली सभामा सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको नेपालस्थित इजरायली दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

कार्यक्रमको सुरुवातमा अक्टोबर ७ को घटना समेटिएको भिडियो प्रदर्शन गरिएको थियो। त्यसपछि मृतकहरूको सम्झनामा दीप प्रज्वलन र एक मिनेट मौन धारण गरिएको थियो।

इजरायल दूतावासकी नियोग उपप्रमुख जना बेबारले विपिन जोशीको अपहरण र हत्या, डिनाह प्रतिवेदनका निष्कर्ष, नोभा म्युजिक फेस्टिभलमा भएको नरसंहारलगायत विषयमा प्रस्तुति दिएकी थिइन्। उनले बालबालिका र वृद्धवृद्धामाथि गरिएको योजनाबद्ध आक्रमण र बाँचिएकाहरूले भोगिरहेको शारीरिक तथा मानसिक पीडाको प्रसंग पनि उठाइन्।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले शान्तिको विकल्प नभएको बताए।

इजरायलका राजदूत श्मुलिक आरिए बासले इजरायल सरकार पीडित परिवारको सधैँ साथमा रहने प्रतिबद्धता जनाए। कार्यक्रममा अक्टोबर ७ को घटनासँग सम्बन्धित फोटो प्रदर्शनी पनि गरिएको थियो।

प्रकाशित: १३ कार्तिक २०८२ १८:०९ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast