नेदरल्यान्ड्सका राजासमक्ष राजदूत लम्सालले बुझाइन् ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १३ कार्तिक २०८२ १४:४१ | Thursday, October 30, 2025
30
SHARES
नेदरल्यान्ड्सका राजासमक्ष राजदूत लम्सालले बुझाइन् ओहोदाको प्रमाणपत्र

काठमाडौँ- बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले सोमबार नेदरल्यान्ड्सका राजा विलियम-अलेक्जेन्डरलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी छन्। ब्रसेल्सस्थित दूतावासले बेल्जियमका साथै नेदरल्यान्ड्स, लक्जेम्बर्ग र युरोपियन युनियन पनि हेर्ने गरेको छ।

लम्सालले सोमबारबाट नेदरल्यान्ड्सका लागि आफ्नो कूटनीतिक जिम्मेवारीको औपचारिक सुरुवात गरेकी छन्। औपचारिक समारोह हेगस्थित नोर्डेइन्डे दरबारमा सम्पन्न भएको थियो। समारोहपछि नेपाली राजदूत लम्साललाई राजासँग व्यक्तिगत भेटका लागि दरबारमा निम्त्याइएको थियो।

भेटका क्रममा राजदूत लम्सालले राष्ट्रपति र नेपाली जनताको तर्फबाट राजालाई सुस्वास्थ्य, दीर्घायु र मित्रवत् डच जनताको समृद्धिको शुभकामना दिइन्। उनले नेपालमा हालै गठन भएको अन्तरिम सरकारका प्राथमिकताहरू, लोकतान्त्रिक अभ्यासबारे जानकारी दिँदै सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेदरल्यान्ड्सले नेपाललाई प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गरिन्।

लम्सालले दुई देशबीच व्यापार, पर्यटन र लगानीको सम्भावनामा जोड दिँदै कृषि, ऊर्जा, उत्पादन र आतिथ्य क्षेत्रलगायतका क्षेत्रमा डच लगानी आकर्षित गर्न आह्वान गरिन्। राजा विलियम-अलेक्जेन्डरले राजदूत लम्साललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। उनले सन् १९९७ मा युवराजको रूपमा नेपाल भ्रमण गरेको स्मरण गरे।

साथै उनले हालैको ‘जेनजी आन्दोलन’पछिको नेपालको अवस्थाबारे चासो राख्दै सरकार र जनताले साझा बुद्धिमत्ताका साथ देशलाई स्थायित्व र प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गरे।

प्रकाशित: १३ कार्तिक २०८२ १४:४१ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast