उद्योगीका पक्षमा बोल्दाबोल्दै मञ्चमै अस्ताए जिफन्ट उपाध्यक्ष कमल गौतम

विनोद परियार १३ कार्तिक २०८२ १३:३८
38
SHARES
उद्योगीका पक्षमा बोल्दाबोल्दै मञ्चमै अस्ताए जिफन्ट उपाध्यक्ष कमल गौतम विरोधसभामा सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेता कमल गौतम। (दायाँ)

बुटवल– रूपन्देहीका १३ उद्योगको ट्रंकलाइन रकम नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधसभामा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेता कमल गौतमको बिहीबार दिउँसो निधन भएको छ।

कार्यक्रममा सम्बोधन गर्दागर्दै जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतम ढलेका थिए। अचानक ढलेका गौतमलाई उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याउनेबित्तिकै उनको मृत्यु भएको प्रत्यक्षदर्शी तथा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले पुष्टि गरेका छन्।

जिफन्टका उपाध्यक्ष गौतमले सम्बोधनका क्रममा  संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए। विरोधसभामा उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए।

गौतमले उद्योगीहरूले मासिक रूपमै विद्युत् महसुल तिर्दै आएकोमा एक्कासि चार वर्षको बिल थमाउँदा उनीहरू पीडित भएको बताएका थिए। ‘जनमानसमा भ्रम छरेर उद्योगीहरूले ठगेका छन् भन्ने पारिएको छ। म यहीँबाट प्रमाण दिन चाहन्छु उद्योगपतिले ठगेका छैनन्’, उनले भनेका थिए, ‘सरकार र विद्युत् प्राधिकरणको गैरजिम्मेवारीपनका कारण यस्तो भएको हो। यो पैसा विद्युत्का कर्मचारीले आफ्नो खल्तीबाट तिर्नुपर्छ।’

उनले आन्दोलनलाई सांकेतिक रूपमा मात्र लिन जरुरी रहेको बताउँदै २५ हजार श्रमिकको रोजगारी गुम्दै गएको बताएका थिए। कार्यक्रममा श्रमिकलाई गुमाउन नचाहेको बत्ताउँदाबताउँदै उनको बोली लरबरिएको थियो। ‘अतः यो कारणले…’ भन्दै गर्दा उनी ढलेका हुन्।

प्रकाशित: १३ कार्तिक २०८२ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast