छठ पर्वले राष्ट्रिय एकता मजबुत बनाउनेछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

हिमाल प्रेस १० कार्तिक २०८२ ७:५८ | Monday, October 27, 2025
छठ पर्वले राष्ट्रिय एकता मजबुत बनाउनेछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

छठ पर्व २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो, संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ, विभिन्न जाति, धर्म र समुदायका मौलिक संस्कृति अनुसारका चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिविम्बित गरेका छन्।’

विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको उनको भनाइ छ। सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ ।

अस्ताउँदो सूर्यलाई अघ्र्य दिई नदी वा जलाशयको छेउमा रातभर व्रत बसेर बिहानपख उदाउँदो सूर्यलाई अघ्र्य दिनु छठ पर्वको मुख्य विशेषता हो। मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान दर्शाउने गरेको पाइन्छ।

उनले भनेका छन्, ‘परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससाथ मनाइने छठ पर्वले हामी सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु।’

छठ पर्वको अवसरमा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे र प्रतिनिधि सभाकी उपसभापति इन्दिरा रानामगरले पनि शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १० कार्तिक २०८२ ७:५८ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast