कैलाली- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । शनिबार अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सङ्घले आवश्यक कानुन नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै उनले संवैधानिक अधिकारसहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।
‘सङ्घले कानुन निर्माणमा गरेको ढिलाइले प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन’, उनले भने । जनताका भावनालाई आत्मसात् गर्दै लोकतन्त्रलाई मजबुत बनाउनेतर्फ तीनवटै तहको भूमिका महत्त्वपूर्ण रहेको उनको कथन थियो ।
अध्यक्ष दाहालले कानुन निर्माणमा सङ्घीय सदनले बढी तदारुकता देखाउन आवश्यक रहेको बताए । उनले भने, ‘द्रुत गतिमा कानुन निर्माणका काम किन भएका छैनन् । त्यसका कारण खोज्न जरुरी छ । जनताले हामीलाई कुरा गर्न पठाएका होइनन् ।’
सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन र सात वटै प्रदेशसभाका सभामुख सहभागी रहेका छन् । सम्मेलन भोलि सम्पन्न हुनेछ ।




