मुस्ताङमा पर्यटकको ओइरो, व्यवस्थापनमा कठिनाइ

हिमाल प्रेस ९ कार्तिक २०८२ १७:५८
मुस्ताङमा पर्यटकको ओइरो, व्यवस्थापनमा कठिनाइ

मुस्ताङ- यस वर्षको तिहार पर्व भाइटीका सकिएलगत्तै हिमालपारिको जिल्ला मुस्ताङमा अनापेक्षित बढ्दो पर्यटक आगमन सङ्ख्याले यहाँको पर्यटन व्यवस्थापनमा निकै चुनौतीपूर्ण बन्यो। बर्खायामको भेल जस्तै मुस्ताङमा एकैसाथ पर्यटक ओइरिँदा यहाँका पर्यटन व्यवस्थापन अस्तव्यस्त रह्यो।

विगतका वर्षमा पनि दसैँ तिहार र छठ पर्वलगायतमा यहाँ आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा हुने गर्थ्यो। यस वर्ष युवाको जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र प्रतिकूल मौसमका कारण यहाँका पर्यटन व्यवसाय खासै चलायमान हुँदैन भन्ने लख काटिएको थियो। पर्यटक मुस्ताङ घुम्न आए पनि विगतका वर्ष जस्तो खासै चहलपहल हुँदैन भन्ने यहाँका पर्यटन व्यवसायले पूर्वानुमान गरेका थिए।

देशको विषम परिस्थिति र सबै क्षेत्रको व्यवसाय धरासयी भइरहेको हुँदा नेपालीको कमाइ नहुने र कमाइ नहुने भएपछि घुमफिर गर्ने योजना पनि रोकिने बुझाइ यहाँका पर्यटन व्यवसायीले गरेका थिए। तर, यहाँ पर्यटन व्यवसायीले गरेको पूर्वानुमान गलत सावित भइदियो। बिहीबारको तिहारको भाइटीका सकिएलगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटक निकै बढेका छन्, जुन यहाँका पर्यटन व्यवसायीले कल्पनासम्म पनि गरेका थिएनन्।

यहाँ हिमताल र हिमनदी पग्लेर बाढी आएको थिएन, न त बर्खायामको नियमित हुने भेल बाढी नै थियो। यो त मुस्ताङको सडक विकासले ल्याइदिएको पर्यटन क्षेत्रको नयाँ उभार थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङ उपत्यकालाई घुम्नै पर्ने सूचीमा पारेपछि मुस्ताङको पर्यटन क्षेत्रका नयाँ आयात नै थपिदियो।

गत शुक्रबारदेखि राष्ट्रिय गौरवको निर्माणाधीन (बेनी–जोमसोम–कोरला) सडकमार्गमा सवारीसाधनका लस्करले सडकमार्ग पूरै ढाकियो। म्याग्दी खण्डमा आधाजसो सडक कालोपत्र भएको छ भने आधाजसो सडक कालोपत्र छ।

म्याग्दी र मुस्ताङको सीमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्र भइसकेको छ। कागबेनीदेखि कोरलानाकासम्मको सडक ग्राभेल भए पनि सवारीसाधनका लागि आवतजावतमा निकै सहज भइसकेको छ। कोरला सडकको अधिकांश खोला, खोल्सीमा पुलपुलेसा निर्माण भइसकेकाले पोखरा–काठमाडौँलगायत सहरबाट मुस्ताङ आवतजावत गर्न कुनै समस्या छैन।

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक मार्गको तीव्र गतिको विकासले पर्यटकको ध्यान मुस्ताङतर्फ केन्द्रित भइरहेको छ। बडादसैँ, चैतेदसैँ औँसी र महत्वपूर्ण चाडपर्वमा आन्तरिक पर्यटकका लागि घुमफिरको केन्द्र बनेको छ मुस्ताङ। तिहारको भाइटीका सकेर मुस्ताङ हानिएका पर्यटकको चापले यतिबेला बेनी–जोमसोम सडकमार्ग र मुस्ताङको ट्राफिक व्यवस्थापन गर्नमा सुरक्षा निकायलाई निकै हम्मेहम्मे पर्‍यो।

बेनी–जोमसोम सडकमार्गको म्याग्दी खण्डका केही स्थान र काभ्रेभिरलगायत सडकमा सवारीसाधनको लस्करले पर्यटकलाई गन्तव्यतर्फ प्रस्थान गर्न घण्टौँ समय लाग्यो। म्याग्दी र मुस्ताङको सिमाना प्रहरीचौकी घाँसामा मुस्ताङ भित्रिने सवारीसाधन र पर्यटक यात्रुको विवरण संकलन गर्ने गरिन्छ।

मुस्ताङ भित्रिएका सवारीसाधन र यात्रुको विवरण संकलन गर्नमा त्यहाँ खटिएका प्रहरीहरूलाई निकै गाह्रो परेको छ। मुस्ताङ प्रहरीका अनुसार यो अहिलेसम्मकै ठूलो सङ्ख्यामा सीमित समयमा सवारीसाधन र यात्रु पर्यटक मुस्ताङ भित्रिएको दाबी गरिएको छ। भाइटीकापछि औसत आठ हजारको सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएको बताइएको छ।

बर्खायामको भेल जस्तै मुस्ताङमा पर्यटक एकैसाथ ओइरिँदा पर्वतको कुश्मादेखि मुस्ताङको कोरलानाकासम्मका होटल पर्यटकले भरिभराउ भएका छन्। यहाँ आएका पर्यटकमध्ये ९९ प्रतिशत आन्तरिक र एक प्रतिशत विदेशी पर्यटक रहेका छन्। मुस्ताङ घुम्न आइपुगेका पर्यटक कतिपयले पहिल्यै होटल ‘बुकिङ’ गरेर आइपुगेका थिए भने कतिपय बुकिङ नगरी आफ्नै तरिकाले घुम्न आउँदा पर्यटन व्यवस्थापनमा समस्या र चुनौती देखापरेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिए। अध्यक्ष लालचन तिहारपछि मुस्ताङका होटल बिहानैदेखि भरिभराउ भएकाले पर्यटकलाई बासस्थानको समस्या देखिएको बताउँछन्।

त्यसो त मुस्ताङमा यतिका सङ्ख्यामा पर्यटक एकैसाथ ओइरिन्छन् भन्ने न त यहाँ आइपुगेका पर्यटकहरूले कल्पना गरेका थिए, न त यहाँका स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र पर्यटनसँग सम्बद्ध संघसंस्थाले नै कल्पना गरेका थिए। आखिर भइदियो त्यस्तै। तिहार सकेर मुस्ताङमा घुम्न र रमाइलो गर्न आएका कतिपय पर्यटकको बसाइ सुखद रहेन। खल्तीमा पैसा भएर पनि यहाँ आइपुगेका पर्यटकहरू न राम्ररी सुत्ने बास सुविधा पाए, न त राम्ररी खान खाने सुविधा नै भयो।

मन श्रेष्ठसहित चार जनाको टोली काठमाडौँबाट मोटरसाइकलमा कोरला नाका जाने योजना बनाएर शनिबार जोमसोम आइपुगे। बिहान १० बजे जोमसोम आइपुगेका उनीहरु होटलमा कोठा खोज्न भौंतारिए। यतिन्जेलसम्म मुस्ताङका होटल पर्यटकहरुले खचाखच भरिएको थियो।

जोमसोम, कागबेनी, मार्फालगायतका स्थानमा होटल खोज्दा समेत बास बस्ने होटलहरू भेटिएन। मुस्ताङमा घुम्न र रमाउन आएका उनीहरूमा बास नपाउने देखिएपछि निराश बने। दुई/चार पैसा बढी तिरौँला बरु हामीलाई होटल खोजिदिनपर्‍यो भने स्थानीय पत्रकार मनिता थकालीसमक्ष अनुरोध गरे। स्थानीय पत्रकार थकालीले होटल नपाएको र कहीँकतै खाली भएमा सूचना दिनुहोला भनी सामाजिक सञ्जालमा पोस्ट गरिएपछि एक सामान्य स्तरको होटलमा जसोतसो व्यवस्था मिलाइएको थियो।

यसै गरी पोखराबाट झन्डै ४० विद्यार्थी लिएर मुस्ताङ घुम्न आएको टोलीसमेत साँझ जोमसोममा बास नपाउँदा बिचल्लीमा पर्नुपर्‍यो। मुस्ताङमा होटलमा बास नपाएपछि कति पर्यटकले सवारीसाधनमा रात कटाएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी छिरिङ किप्पा लामाले तिहारपछि ठूलो सङ्ख्यामा पर्यटक मुस्ताङ ओइरिँदा होटल व्यवस्थापनमा समस्या परेको बताए। डीएसपी लामाका अनुसार ‘बुकिङ’ नगरी मुस्ताङ आएका पर्यटकले बास नपाउँदा यहाँका धर्मशाला, सामुदायिक भवन र होमस्टेलगायतमा लगेर राखिएको छ।

होटल बुकिङ नगरी उपल्लो मुस्ताङको भ्रमण गर्न गएका एक टोलीलाई लोमान्थाङस्थित आमा समूहको भवनमा लगेर राखिएको डीएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो। कोरला नाका अवलोकन गरी जोमसोम फर्किदै गरेको अर्को एक गाडी बीच माटोमै बिग्रिएपछि बिचल्लीमा परेका पर्यटकलाई छुसाङस्थित स्थानीयहरुको घरघरमा लगेर राखिएको डीएसपी लामाको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ र यहाँका सरोकारवाला निकायले दसैँ, तिहार र छठ पर्वका बेलामा मुस्ताङ घुम्न आउँदा अनिवार्य होटल बुकिङ गरेर मात्रै आउन पर्यटकलाई सुझाएको छ। होटल बुकिङ नगरी आउँदा बास नपाइने र होटल र विचौलियाबाट ठगिन सक्ने भएकाले मुस्ताङ भ्रमण गर्दा होटल बुकिङ गरेर मात्रै यात्रा सहज हुने जनाएको छ।

मुस्ताङमा पर्यटकको चाप बढेपछि यहाँका कतिपय होटल मनोमानी रूपमा खान र बस्नमा चर्को मूल्य लिएको गुनासोसमेत गरिएको छ। पर्यटकले मुस्ताङ महँगो भएको र व्यवसायीले पर्यटकलाई मनोमानी पैसा असुल्ने गरेको गुनासो लेखेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गर्ने गरेको पाइएको छ।

मुस्ताङ उद्योग वाणिज्य संघले पर्यटकहरूसँग जथाभावी पैसा नलिन र उपयुक्त सेवा सुविधा र सुहाउँदो पैसा लिन समेत आग्रह गरेको छ। व्यवसाय एक पटकको मात्रै नभई सधैँका लागि भएकाले मुस्ताङको बदनाम हुने गरी व्यवसाय सञ्चालन नगर्न अनुरोध गरिएको छ।

मुस्ताङमा सञ्चालित होटलहरुले आठ हजार पर्यटक थेग्न नसकिएपछि विशेष चाडपर्वका बेला वैकल्पिक व्यवस्था अपनाउनुपर्ने आवाज उठ्न थालेको छ। यहाँका गाउँगाउँमा समुदायको सामुदायिक भवन र सार्वजनिक भवन खाली हुने भएकाले पर्यटकलाई अप्ठ्यारो पर्दा त्यहाँ राख्ने व्यवस्था मिलाउन सकेमा पर्यटकलाई परेको पिरमर्का समाधान गर्न सकिने अवस्था रहेको सरोकारवालाहरुको भनाइ छ।

मुस्ताङका पाँच स्थानीय तहमा साना ठूला गरी ३२५ वटा होटल सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। एक वर्षअघिको यो तथ्यांघमा केही नयाँ होटलहरु थपिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ।

यहाँको लोमान्थाङ गाउँपालिकामा २०, लोघेकर दामोदरकुण्डमा ३०, बारागाउँ मुक्तिक्षेत्रमा ६३, घरपझोङ गाउँपालिकामा १६३ र थासाङ गाउँपालिकामा ४९ वटा होटल सञ्चालनमा रहेका छन्। यहाँ सञ्चालनमा रहेका होटलमध्ये ९० प्रतिशत राजमार्गमा रहेको र १० प्रतिशत होटल राजमार्गभन्दा बाहिर रहेको जनाइएको छ। सामान्य अवस्था पर्यटक व्यवस्थापनमा खासै अप्ठ्यारो नपर्ने भए पनि मुख्य चाडपर्वमा यहाँका होटलको सङ्ख्या अपुग हुने भएकाले पर्यटकहरु मुस्ताङ भ्रमण गर्न आउँदा यहाँको वस्तुस्थिति बुझेर मात्रै आउन प्रहरीले अनुरोध गरेको छ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शन पहिलो प्राथमिकतामा पर्छ। यहाँ आइपुगेका पर्यटकहरूले मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन्। यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्दछन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले तिहारको भाइटीकापछि मुस्ताङमा पर्यटकको चाप नरोकिएको जनाएको छ। म्याग्दी र मुस्ताङ सिमानामा पर्यटकको विवरण सङ्कलन गर्न तीन जना जनशक्ति खटिएको जनाएको छ। आइतबार पनि मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या बाक्लो रहेको त्यहाँ कार्यरत समितिका कर्मचारी रवीन सुवेदीले जानकारी दिए। यहाँ दर्शन तथा स्वास्थ्य सुरक्षा र अन्य सुरक्षा व्यवस्थापका आवश्यक जनशक्ति परिचालन भइरहेको बताए।

दसैँ, तिहारलगायत चाडपर्वको लामो बिदाका अवसरमा स्कुल कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरु मुस्ताङ घुम्न आएका बताइएको छ। मुस्ताङमा चिसो बढेकाले पर्यटक बिरामी परेर अस्पताल भर्ना हुनेको सङ्ख्या बढे पनि हालसम्म कसैको ज्यान नगएको मुस्ताङस्थित प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले जानकारी दिइन्। उनका अनुसार तिहारपछि करिब दुई हजार पर्यटकले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन्। -सुन्दरकुमार थकाली/रासस

प्रकाशित: ९ कार्तिक २०८२ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast