सिक्किम उच्च अदालतद्वारा हराएका नेपाली अक्षर पुनर्स्थापना आदेश

हिमाल प्रेस ७ कार्तिक २०८२ ९:१५ | Friday, October 24, 2025
52
SHARES
सिक्किम उच्च अदालतद्वारा हराएका नेपाली अक्षर पुनर्स्थापना आदेश

काठमाडौँ- भारतको सिक्किम उच्च अदालतले नेपाली वर्णमालामा हाल प्रयोगमा आउन छाडेका केही अक्षरहरू पुन: प्रयोगमा ल्याउन आदेश दिएको छ। आदेशअनुसार ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरूको प्रयोग अब अनिवार्य हुनेछ।

पहिले नेपाली वर्णमालामा क, ख, ग पढाउने क्रममा यी अक्षरहरू पनि पढाइन्थ्यो र लेखाइन्थ्यो। तर पछिल्ला वर्षहरूमा आधुनिकता र बोलीचालीको प्रभावले ‘ण’ लाई ‘न’, ‘श’ लाई ‘स’ तथा ‘ऋ’ लाई ‘रि’ले विस्थापित गरेको थियो। यसका कारण विद्यालय, विश्वविद्यालय, पत्रिका र साहित्यिक पुस्तकहरूमा यी अक्षरहरू प्रयोग हुन छाडेपछि शिक्षक र अभिभावकहरूमा शंका उत्पन्न भएको थियो।

सिक्किम निवासी अवकाशप्राप्त नेपाली शिक्षक तथा साहित्यकार धनराज गुरुङले ७ अगस्ट २०२५ मा उच्च अदालतमा रिट दायर गरेका थिए। वर्णमालाबाट यी अक्षरहरू हटाइँदा भाषिक शुद्धता र पहिचानमा नकारात्मक प्रभाव परेको गुरुङले तर्क गरेका थिए।

सुनुवाइपछि मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको संयुक्त इजलासले वर्णमालाबाट हराएका अक्षरहरू पुनर्स्थापित गर्ने र त्यसको प्रयोग अनिवार्य गर्ने आदेश जारी गर्‍यो। भाषा संचारको माध्यम मात्र नभई  पहिचान र संस्कृतिको आधार भएको अदालतको भनाइ छ।

उच्च अदालतको आदेश अनुसार नेपाली भाषाविज्ञ सहित ६ सदस्यीय समिति गठन गरिएको छ। समितिमा सिक्किम एकाडेमीका अध्यक्ष शुक्र सुब्बा, नेपाली लोकसाहित्यकार चन्द्रप्रकाश शर्मा, साहित्य एकाडेमी नयाँ दिल्लीका शंकरदेव प्रसाद ढकाल, एनबीबी डिग्री कलेजका एसिस्टेन्ट प्रोफेसर टेकबहादुर क्षेत्री, साहित्य एकाडेमी अवार्ड विजेता लेखक युवा बराल र सिक्किम विश्वविद्यालयको नेपाली विभाग प्रमुख प्रो. कविता लामा रहेका छन्।

समितिले हरेक शिक्षण संस्थामा उच्च अदालतको आदेश कार्यान्वयन गराउने जिम्मेवारी पाएको छ। यदि कुनै संस्था वा लेखकले आदेश बेवास्ता गरे  तिनका पुस्तकहरू शिक्षण संस्थामा स्वीकृत हुने छैनन्।

प्रकाशित: ७ कार्तिक २०८२ ९:१५ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast