सरकार निर्वाचन वातावरण होइन आयु लम्ब्याउने खेलमा लागेको छ : प्रभु साह

हिमाल प्रेस ७ कार्तिक २०८२ ६:५८ | Friday, October 24, 2025
सरकार निर्वाचन वातावरण होइन आयु लम्ब्याउने खेलमा लागेको छ : प्रभु साह

रौतहट- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार जेनजी आन्दोलनका माग सम्बोधन गर्न असफल भएको आरोप लगाएका छन्।

दीपावली र छठ पर्वको अवसरमा बिहीबार रौतहटको गुजरा नगरपालिका–३ बलुवामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका अध्यक्ष साहले सरकारले आन्दोलनको मूल उद्देश्य बिर्सिएको बताएका हुन्।

उनले भने, ‘सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको बलमा बनेको हो। तर यो सरकार आन्दोलनका प्रमुख मुद्दा व्यवस्था सुधार, भ्रष्टाचार नियन्त्रण र हत्यारामाथि कारबाहीप्रति पूर्णतः बेपरवाह बनेको छ।’

साहले वर्तमान सरकार निर्वाचनको वातावरण नबनाई आफ्नो कार्यकाल लम्ब्याउने खेलमा लागेको आरोपसमेत लगाए। उनले भने, ‘तोकिएको मितिमा जसरी पनि निर्वाचन सम्पन्न गर्न आजपा जनदबाब सिर्जना गर्नेछ। आवश्यक परे कान समातेर पनि चुनाव गराइनेछ।’

उनले जेनजी आन्दोलनका हत्याराहरू अझै खुलेआम हिंडिरहेका बेला सरकार मौन दर्शक बनेको भन्दै गम्भीर आपत्ति जनाए। ‘यो सरकार जेनजीका सहिद परिवारप्रति पनि असंवेदनशील बनेको छ,’ उनले टिप्पणी गरे।

प्रकाशित: ७ कार्तिक २०८२ ६:५८ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast