इटहरीमा छठ पर्वको तयारी, दुई लाख श्रद्धालु सहभागी हुने

हिमाल प्रेस ५ कार्तिक २०८२ ९:३७
12
SHARES
इटहरीमा छठ पर्वको तयारी, दुई लाख श्रद्धालु सहभागी हुने

इटहरी– इटहरी र सुन्दरहरैंचाको सीमाक्षेत्र बूढीगंगा–जमुना मुक्तिधाममा यस वर्ष भव्य रूपमा ३६औं छठ पर्व मनाइने भएको छ।

छठ पर्व सेवा समितिले इटहरीमा पत्रकार सम्मेलन गरी तयारी, कार्यक्रम र खर्च विवरण सार्वजनिक गर्दै यस वर्षको पर्वलाई ‘सभ्य, भव्य, सुरक्षित र सुव्यवस्थित’ बनाउने प्रतिबद्धता जनाएको छ।

समितिका सचिव मुकेशकुमार चौधरीका अनुसार यस वर्ष कोशी प्रदेशका विभिन्न जिल्ला र भारतका सीमावर्ती क्षेत्रहरूबाट करिब दुई लाखभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। उनले भने, ‘३५ वर्षअघि थोरै मानिसले सुरु गरेको पर्व अहिले सम्पूर्ण नगरवासीको साझा आस्था र पहिचान बनेको छ ।’

पहिलो दिन व्रतालुहरूले निषेधित वस्तु परित्याग गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने, दोस्रो दिन घरमा गोबरले लिपपोत गरी पूजा गर्ने र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिने परम्परा छ । चौथो दिन सूर्योदयको अर्घसहित पर्वको समापन गरिन्छ।

यस वर्ष समितिले ५५० वटा पूजा घाट निर्माण गरेको छ भने घाट वरिपरि सरसफाइ, प्रकाश व्यवस्था, मन्दिर सजावट र सांस्कृतिक कार्यक्रमहरूको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

सुरक्षाका लागि एक सय जना स्वयंसेवक, ५० जना सुरक्षा गार्ड, सीसी क्यामेरा निगरानी, र ट्राफिक व्यवस्थापन टोली परिचालन गरिनेछ। पर्व व्यवस्थापनका लागि २६ लाख रुपैयाँ बराबरको खर्च अनुमान गरिएको छ ।

पर्वका दिनहरूमा बूढीगंगा–जमुना–मुक्तिधाम आसपासका क्षेत्रमा धार्मिक पर्यटन र सामाजिक एकताको वातावरण पनि देखिन्छ । सचिव चौधरीले भन्छन्, ‘छठ पूजाको एक कार्यक्रम मात्रै होइन । सहरको सह–अस्तित्व र सहकार्यको प्रतीक पनि हो । सबै धर्म, जात र समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा मनाउँछन्।’

भाइटीकाको भोलिपल्ट कार्तिक ७ गते नदी, पोखरी, नहरमा स्नान गरी लौका तरकारी र चामलको भात खाने गरिन्छ । उनका अनुसार पहिलो दिन (कार्तिक ८) ब्रतालुहरूले लसुन, प्याजलगायत निषेधित वस्तु परित्याग गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् । यसैगरी कात्तिक ९ गते घरको विशेष कोठालाई गोबरले लिपपोत गरी चोख्याएर पूजा गरिन्छ ।

‘यसको विशेषता भनेको भित्र पूजा नसकुन्जेलसम्म बाहिर परिवारजन, आफन्त तथा टोलबासीहरू पर्खेर बस्दछन्,’ उनले भने, ‘पूजापश्चात् व्रतालुले प्रसाद ग्रहण गरिसकेपछि मात्रै सबैलाई प्रसाद वितरण गरिन्छ । र, सोही समयबाट व्रतालुहरूले निराहार व्रत विधिवत् रूपमा सुरुवात गर्दछन् ।’

कात्तिक १० गते छठको मुख्य दिन निराहार व्रत बसिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिने चौधरीले बताए । ११ गते भने सूर्योदयलाई जल चढाएर, सूर्य नारायण मन्दिरमा गई जल चढाएपछि मन्दिर प्राङ्गणबाटै छठ पर्व समापन हुने उनको भनाइ छ ।

प्रकाशित: ५ कार्तिक २०८२ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast