
पोखरा- पाल्पाको माथागढी गाउँपालिका ४ का एक युवकले जुवा खेल्न पैसा माग्दा एक वृद्ध दम्पतीले अस्वीकार गरेपछि जघन्य घटना घटेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ३७ वर्षीय मीनबहादुर विश्वकर्माले जुवा हारेको झोकमा एक वृद्ध दम्पतीमाथि कुटपिट गरेको र घाइते भएकी वृद्धाको मृत्यु भएको हो।
प्रहरीका अनुसार स्थानीय डाकै देउगिर निवासी ८२ वर्षीय प्रेमबहादुर जिसी र ७६ वर्षीया फूलमाया जिसीलाई कुटपिट गरेर घाइते बनाएका थिए। जसमध्ये फूलमायाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी डीएसपी होमप्रकाश चौधरीका अनुसार ती युवकले हँसिया प्रहार गरी हत्या गरेको खुलेको छ। निजलाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही सुरु गरिसकेको जनाइएको छ।
कसरी घट्यो घटना?
घटना विवरणअनुसार, माथागढी गाउँपालिका ४, झडेवाका ३७ वर्षीय मीनबहादुर विश्वकर्मा गएराति गाउँमै जुवा (तासको एक खेल तीनपत्ती) खेलिरहेका थिए। प्रहरीका अनुसार तास खेल्नेक्रममा उनले हार्छन् र रक्सी सेवन गरेका उनी पैसाको खोजीमा निस्किन्छन्।
वडाकै देउगिर निवासी ८२ वर्षीय प्रेमबहादुर जिसी र ७६ वर्षीया फूलमाया जिसीसमक्ष पैसा माग्न जान्छन्। जिसी दम्पतीले आफूसँग पैसा नभएको भनी विश्वकर्मालाई फर्काउँछन्। पैसा नदिएको निहुँमा गएराति १२ बजे विश्वकर्मा वृद्ध दम्पतीमाथि जाइलाग्छन्। फूलमायाको घटनास्थलमै मृत्यु भएको हो भने प्रेमबहादुर गम्भीर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी डीएसपी होमप्रकाश चौधरीका अनुसार ती युवकले हँसिया प्रहार गरी हत्या गरेको खुलेको छ। निजलाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही सुरु गरिसकेको जनाइएको छ।
घाइते प्रेमबहादुरको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ। उनलाई तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज लगिएकोमा न्यूरोको उपचार सम्भव नभएपछि बुटवल रेफर गरिएको अस्पताल स्रोतले जनायो।
माथागढी गाउँपालिका ४ का वडाध्यक्ष शंकर दर्लामीले गाउँमा गएराति अप्रिय घटना घटेको बताउँछन्। उनका अनुसार वृद्ध दम्पती सामान्य खेतीकिसानी गर्ने परिवारहरु हुन्। जिसी दम्पती र विश्वकर्माबीच पहिलेदेखि नै चिनजान थियो।