
काठमाडौँ- आइतबार मात्रै निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ता भयो। ‘क्रस खुकुरी’ चुनाव चिह्न भएको जेनजी पार्टीमा २१ केन्द्रीय समितिको संरचना छ।
वर्तमान संरचनासँग मिल्दोजुल्दो एजेन्डा बोकेको जेनजी पार्टी भ्रष्टाचारविरुद्ध उभिने र उदारवादलाई प्राथमिकता दिने पार्टी अध्यक्ष हिराप्रसाद सेती उर्फ किरण विक दाबी गर्छन्।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको भावनाअनुरूप आफ्नो पार्टी अघि बढ्ने विक बताउँछन्। ‘हामी वर्तमान संविधान र संरचना नै मानेर अघि बढ्छौँ। तर भ्रष्टाचारविरुद्ध अभियान निरन्तर चलाउँछौँ,’ विक भन्छन्।
केही दिनअघि जेनजी अभियन्ता मिराज ढुंगानाले पार्टी घोषणा गरे। गत शनिबार नयाँ बानेश्वरको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणाको सन्देश दिएका थिए। ढुंगानाले आफ्नो पार्टीको प्रमुख एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको बताउने गरेका छन्। जेनजी अभियन्ता विक र ढुंगानाकै पनि एजेन्डा मिल्दाजुल्दा छैनन्।
विक संसदीय प्रणाली मान्न तयार छन् भने ढुंगाना प्रत्यक्ष कार्यकारीको माग गरिरहेका छन्। उनीहरू दुवै गएको जेनजी आन्दोलनका हकदार हुन्। जेनजी अभियन्ताहरूकै अनुसार पनि जेनजीहरू समूहसमूहमा विभाजित छन्।
जेनजी छरपष्ट भएमा फेरि पुराना शक्ति नै उदाउने सम्भावना पनि छ। तर सबै जेनजी एक हुने सम्भावना छैन। कतिपय त दल खोल्ने मनासयमा पनि छैनन्। अन्तरिम सरकारले नै आगामी फागुन २१ मा संसदीय निर्वाचन तोकेको छ। तर समूहमा प्रतिनिधित्व नभएका जेनजीहरू कसरी चुनावमा जालान्? आन्दोलनबाट देशको नेतृत्व नै फेरेको जेनजी विभाजित हुँदा कमजोर हुने त होइन भन्ने संशय छ। खासमा जेनजीभित्र कति समूह छन्? उनीहरूका के कस्ता एजेन्डा छन्? यसबारे चर्चा गरौँ।
सुदन गुरुङ समूह : प्रत्यक्ष निर्वाचित कार्यकारी
जेनजी अभियन्ताहरूका अनुसार जेनजीहरू समूहसमूहमा विभाजित छन्। गएको भदौ २३ को आन्दोलन नै ‘लिडर लेस’ आन्दोलन भनिएको थियो। त्यसलगत्तै सरकार निर्माणका बेला जेनजीबीच असन्तुष्टि देखिन्थ्यो। तर जेनजी आन्दोलन र सरकार निर्माणताका सक्रिय रहेको समूह हो सुदन गुरुङ समूह।
‘हामी नेपाल’ नामक संस्थामार्फत् भदौ २३ को आन्दोलनमा आएका थिए। सुदनले विगतबाटै सामाजिक काम गर्दै आएका थिए।
जेनजी आन्दोलनका बेला ‘लिडर लेस’ रहँदा उनले नै सेना र राष्ट्रपतिसँग छलफलमा जुटे। त्यसपछि सुदन चर्चामा छन्। उनीहरूको प्रमुख एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी हो। अहिले पनि सुदन समूह सोही एजेन्डा लिएर हिँडेको छ। सुदन निकट एक अभियन्ताका अनुसार तत्काल पार्टी खोल्ने योजना छैन।
‘हामीहरूबीच छलफल चलिरहेकै छ। पार्टीबारे छलफल भएको छैन,’ उनले भने। सुदनलाई सुरुमा तिब्बती मूलको भनिएको थियो। तर उनी गोरखा जिल्लामा जन्मिएका हुन्। उनी जेनजी उमेर समूहका नभए पनि ‘जेनजीको स्टेकहोल्डर’ भएको अभियन्ताहरू बताउँछन्। ‘संकटको बेला सुदनजीले काम गर्नुभएको छ। उहाँ हाम्रै अभियानमा हुनुहुन्छ,’ जेनजी अभियन्ता अमित खनालले भने।
कतिपयले सुदन समूहलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह निकट पनि भन्छन्। जसरी बालेनले आन्दोलनका बेला संसद् विघटनको मुद्दा सार्वजनिक गरे सुदनले पनि सोही मुद्दा अघि बढाएका थिए। सामाजिक सञ्जालमा सुदन र बालेन निकट रहेको पनि बताइन्छ।
रक्षा बम समूह : संसदीय व्यवस्थाकै पक्षधर
जेनजी आन्दोलनका बेला सक्रिय रहेको समूह हो, रक्षा बम समूह। जहाँ युजन राजभण्डारी, प्रदीप ज्ञवालीलगायतका अभियन्ता पनि पर्छन्। यो समूहको एजेन्डा वर्तमान प्रणाली र संविधानसँग मिल्दो छ।
बम समूहका नेताहरू भ्रष्टाचार निर्मूलको मात्र माग राखेको बताउँछन्। त्यसो त, रक्षा बम तिनै अभियन्ता हुन्, जो सेनाले छलफलका लागि बोलाउँदा ‘दुर्गा प्रसाई र रास्वपा स्टेकहोल्डर हो’ भन्दा आपत्ति जनाएकी थिइन्। सुशीला कार्की प्रधानमन्त्री बन्दा भने यी दुवै समूहको कुरा उठेन।
निकट नेताहरूका अनुसार बम र राजभण्डारी यसअघि विवेकशील साझामा थिए। त्यसैबाट जेनजी आन्दोलनमा उठे। अब पार्टी खोल्ने वा पुरानैमा फर्किने स्पष्ट नभएको अभियन्ताहरूको दाबी छ।
मिराज ढुंगाना : आन्दोलनमा थिएनन्, पार्टी खोल्न आइपुगे
जेनजी आन्दोलनमा काठमाडौँमा कार्यक्रम गर्न अगुवाइ गरेका तर आन्दोलनमा नदेखिएका पात्र हुन्, मिराज ढुंगाना। ढुंगाना गत भदौ २३ र २४ को आन्दोलनमा गुमनाम थिए तर अहिले एकाएक चर्चामा छन्।
उनी यसअघि पार्टी घोषणा गर्ने भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए। जेनजी अभियन्ताहरूका अनुसार मिराज आन्दोलन गर्नका लागि लागेका अभियन्ता थिए। तर सुरुबाटै उनी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा थिए।
‘आन्दोलनभन्दा अगाडि भीमसेनगोलाको बैठकमा हुनुहुन्थ्यो। त्यसैमा प्रत्यक्ष कार्यकारीको कुरा उठ्यो। हामी अहिले राजनीतिक कुरामा नगरौँ भनेपछि उहाँ आउनुभएन,’ एक अभियन्ताले भने। मिराजले भने आफूलाई कसैले ‘थ्रेट’ दिएपछि आन्दोलनमा उपस्थित नभएको दाबी गरेका छन्।
‘म आन्दोलनमा आउँदा भड्किने भनेपछि म ब्याक भएँ,’ मिराजले भने। त्यसो त, आन्दोलनको पूर्र्वार्द्धमा मिराजसहितको टोली दुर्गा प्रसाईको घरमा समेत गएका थिए। प्रसाईले जेनजी अभियन्तासँग छलफल गरेको भन्दै मिराजसहितको तस्बिर सार्वजनिक गरे। मिराजका अनुसार प्रसाईलाई भेटेका कारण उनलाई थ्रेट आएको थियो। उनले आफूहरूको आन्दोलनमा नआइदिन अनुरोध गर्न प्रसाईको घरमा पुगेको बताएका थिए।
दलका जेनजी : कोही हिन्दु पक्षधर, कोही राजावादी
अहिले स्वतन्त्र मात्र नभई दलका जेनजी पनि छन्। कतिपय दलभित्रै रहेर पनि अभियानमा थिए भने कोही दल छाडेर अभियानमा लागेका छन्। उनीहरू सबैका एजेन्डा फरक भएको बताइन्छ।
‘हामी विगतमा पनि दलहरूमा थियौँ। अब पनि भिन्नभिन्न कित्तामा छौँ,’ हालै जेनजी राष्ट्रिय जेनजी पार्टीका अध्यक्ष विक भन्छन्, ‘हामी फरकफरक छौँ। एउटै ध्रुवीकरणमा रहन सहज छैन।’ त्यसो त, अहिले उनीहरू पिच्छे एजेन्डा पनि फरक छ। कोही जेनजी हिन्दु धर्मको वकालत गरिरहेका छन् भने कोही राजतन्त्रको पक्षधर छन्।
‘हामीबीच संवाद भइरहेकै छ,’ जेनजी अभियन्ता अमित खनाल भन्छन्। जेनजीभित्रको निकोलस भुसाल पक्ष हिन्दु धर्मको वकालत गरिरहेका छन्।
‘उहाँहरू कार्यकारीको कुरा उठाउनु हुँदैछ। तर खास एजेन्डा हिन्दु धर्म नै हो,’ एक जेनजी अभियन्ता भन्छन्। त्यसो त, राप्रपाका नेता रविकिरण हमाल पनि जेनजी आन्दोलनमै थिए। उनले अहिले पनि राप्रपा छाडेका छैनन्। हमाल अहिले राजावादी एजेन्डामा रहेका अभियन्ताहरूको बुझाइ छ। उनले भने अहिले प्रत्यक्ष कार्यकारीको माग उठाइरहेका छन्।
जेनजीका नाममा कांग्रेस, एमाले, माओवादी र जनमतका कार्यकर्ता समेत सहभागी छन्। माओवादीले त ‘जेनजी रेड फोर्स’ नामक जेनजी अभियान चलाउन थालेको छ। स्मृति तिमिल्सिनाको नेतृत्वमा अभियान चलाउन थालेको हो। अन्य पार्टीमा समेत जेनजीको लहर सुरु भएको छ। कांग्रेसमा ४० मुनिका युवा अभियान सुरु भएको छ।
प्रतिपक्षी बन्नेमा अमित समूह
यसरी दल खोल्ने र आगामी निर्वाचनमा होमिने प्रक्रिया चलिरहँदा जेनजीभित्रैकै एक समूह भने प्रतिपक्षी नै बनिरहने अडानमा छ। आन्दोलनमा अभियन्ताका रूपमा रहेका अमित खनाल आफू सडकबाटै एजेन्डाका विषयमा दबाब दिने बताउँछन्।
‘हामी दल खोज्ने योजनामा छैनौँ। हामी हाम्रा एजेन्डा बुझाउन सडकबाटै खबरदारीको प्रयास गर्नेछौँ,’ खनालले हिमाल प्रेससँग भने, ‘संसद्मा खाँचो परेमा स्वतन्त्रलाई जिताउन हामी लाग्न अभियान चलाउन सक्छौँ तर दल नै खोल्नेमा छैनौँ।’ खनालका अनुसार भ्रष्टाचारका विरुद्ध निरन्तर खबरदार गरिरहेन योजना छ।