
काठमाडौँ- ‘कस्तुरी’ नामक फिल्म बन्ने भएको छ। निर्माण टिमले एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो।
ऋत बोहोराको पटकथा र निर्देशन रहने फिल्म सस्पेन्स थ्रिलर जनरामा बन्नेछ। निर्देशकका अनुसार फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिनेछ। फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराले बताए। फिल्मको कथा ब्रजेश खनालले लेखेका हुन्।
फिल्ममा निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहनेछन्। उनीहरूसँगै फिल्ममा निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि रहने पोस्टरमा उल्लेख छ।
फिल्ममा धीरज कुमार अग्रवालको लगानी रहनेछ। उनी कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा. लि. मार्फत विभिन्न उद्योग-व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनले पहिलोपटक मनोरञ्जन क्षेत्रमा पाइला चालेका हुन्। उनले निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रा. लि.को ब्यानरबाट फिल्म ‘कस्तुरी’ बनाउन लागेका हुन्।
सह-निर्मातामा अञ्जली चौधरी रहेकी छन्। छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सह-निर्देशन ललित बिस्टको रहनेछ। निर्माण पक्षका अनुसार फिल्म आगामी मंसिरदेखि काठमाडौँ र आसपासका क्षेत्रमा छायांकन सुरु हुनेछ।