कार्यसम्पादनमा पर्वत देशभरमै उत्कृष्ट

हिमाल प्रेस १ कार्तिक २०८२ ९:४० | Saturday, October 18, 2025
कार्यसम्पादनमा पर्वत देशभरमै उत्कृष्ट
पर्वत- गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ ।
गत आर्थिक वर्ष विसं २०८१–०८२ को कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो । एक सय पूर्णांकको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अंक प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष विसं २०८१–०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अंक प्राप्त गरेको थियो ।
गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डहरूका आधारमा मूल्यांकन गर्दै आएको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार कार्यालयले नागरिकसँगको सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा प्रदान गर्ने अभ्यास, दक्ष जनशक्ति परिचालन तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ ।
‘हामीले नागरिकका गुनासो चाँडो सुन्ने, सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिने, तथा प्रशासनिक काममा चुस्ती ल्याउनेजस्ता प्रयासहरू गरेका छौँ’, प्रजिअ घिमिरेले भने, ‘यो उपलब्धि सम्पूर्ण कर्मचारी टोली र स्थानीय सरोकारवालाहरूको सहकार्यको परिणाम हो।’
यस उपलब्धिपछि कार्यालयले अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता र हौसला मिलेको उनको भनाइ छ । कार्यसम्पादन मूल्यांकनमा दोस्रो नम्बरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौँमा धनकुटा परेका छन् । छिमेकी जिल्ला बागलुङ २४, म्याग्दी ३२ नम्बरमा परेको छभने सबैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको छ । पाँचथरको ७३ दशमलव ८२ अंक प्राप्त गरेको छ ।
प्रकाशित: १ कार्तिक २०८२ ९:४० | Saturday, October 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast