
काठमाडौँ- नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी बैठक आज बिहान ८ बजेदेखि पुनः सुरु हुनेछ।
बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखिरहेको बताए । केन्द्रीय सदस्यहरूले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्त्वपूर्ण सुझाव दिइरहेको गौतमले बताए।
राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिनका लागि केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ । प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रूपमा प्रस्तुत गर्न अनुरोध गरिएको बताए ।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । जारी बैठक भोलि समापन गर्ने तयारी छ ।