
काठमाडौँ- वर्ल्ड क्लास धावक केन्याका जोन केलाई र मिसन नेपाल वर्ल्ड २०२३ श्रृष्छा प्रधान धारा नेपालगन्ज म्याराथनको सद्भावना दूत नियुक्त भएका छन्।
सोमबार नेपालगन्जस्थित होटल डायमन्ड प्यालेसमा आयोजित विशेष कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले सद्भावना दूतको कदरपत्र जोन र श्रृच्छालाई हस्तान्तरण गरे।
मेयर बिष्टले छोटो समयमै नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय जगतमा विश्वास आर्जन गर्न सफल भएको बताए। ‘म्याराथन खेल मात्र नभई अब शान्ति सद्भाव र एकताको सशक्त माध्यम बनिसकेको छ,’ उनले भने, ‘उपमहानगरपालिका सदा संस्थागत सहकार्यका लागि तयार छ, यतिबेला हामीले विभाजित मनलाई एकढिक्का बनाउनुछ, मंसिर ६ गतेलाई साँच्चिकै एकता र सद्भावको दिन बनाऔं।’
टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेडले धारा नेपालगन्ज म्याराथनको मेहनत र प्रतिफलबाट आफूहरू निकै प्रभावित भएको बताउँदै अझ यसको दायरा बढाउँदै जाँदा आफ्नो तर्फबाट सहयोग गर्ने बताए।
विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोनले संसारभरबाट प्राकृतिक सौन्दर्य हेर्न नेपाल आउने गरेकोमा अब म्याराथनका बहानामा समेत आउने धेरै सम्भावना बढेको धारणा व्यक्त गरे। आफूले अन्तर्राष्ट्रिय धावकहरूलाई नेपाल ल्याउन आफूले पहल गर्ने पनि उनले बताए।
त्यसै गरी मिस नेपाल श्रृच्छाले पर्यावरणीय संकटलाई सामूहिक प्रयासबाट निराकरण गर्नुपर्ने र यसका लागि म्याराथन जस्ता इभेन्ट प्रभावकारी हुने बताइन्। आयोजकले दौडमार्फत पर्यावरण जोगाउन आफूलाई छनोट गरेकोमा खुसी व्यक्त गरिन्।
कार्यक्रममा गौघाट ग्रीन रनको टिसर्ट समेत सार्वजनिक गरिएको थियो। धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिबार हुनेछ। यसका लागि दर्ता खुला गरिसकिएको छ।