पत्रकारिताको आडमा धाकधम्की दिएको गुनासोपछि महासंघको ध्यानाकर्षण

हिमाल प्रेस २६ असोज २०८२ २१:४२ | Sunday, October 12, 2025
14
SHARES
पत्रकारिताको आडमा धाकधम्की दिएको गुनासोपछि महासंघको ध्यानाकर्षण

इटहरी- नेपाल पत्रकार महासंघ सुनसरी शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिका विभिन्न अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शाखाका सचिव पर्शुराम बाह्रकोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रको मूल आधार मानिने प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने नियोजित प्रयासहरू भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।

‘जेनजी आन्दोलनको क्रममा सुनसरीका पत्रकारहरू भौतिक आक्रमणमा नपरेपनि त्यसपछिका गतिविधिले मानसिक रूपमा विचलित भएको अवस्थामा व्यावसायिक पत्रकारको साथमा महासंघ सुनसरी रहेको विश्वास दिलाउँदै निशंकोच रूपमा रिपोर्टिङ गर्न र समाचार सम्प्रेषण गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। खासगरी महासंघले पत्रकारिताको नाममा गैरकानुनी कार्य गर्नेहरूमाथि कारबाही गर्न प्रशासनसँग आग्रहसमेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनपछि पत्रकारिताको आडमा धाकधम्की दिने र नागरिकमा त्रास बढाउने गतिविधि भइरहेको सूचना प्राप्त भएको हुँदा गम्भीर ध्यानाकर्षण भएको छ। जेनजी पत्रकार भन्दै प्रशासन, सरकारी निकाय र नागरिकलाई त्रसित बनाउने गरेको गुनासो आएकाले त्यस्ता गतिविधि रोक्न चेतावनी दिन चाहन्छौं । पत्रकारितालाई बदनाम गराउने गतिविधिमा संलग्न जो कोहीमाथि अनुसन्धान गरी कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै कसैले पत्रकारिताको नाममा बार्गेनिङ गर्ने वा धम्की दिने गतिविधि गरे महासंघमा खबर गर्न अनुरोध गर्दछौं ।’

यस्तै, महासंघले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूमा अप्रमाणित तथा मिथ्या सूचना प्रकाशन–प्रसारण भइरहेकोप्रति पनि सचेत गराएको छ।

प्रकाशित: २६ असोज २०८२ २१:४२ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast