सुनसरीमा पर्यटन प्रवर्द्धन गर्न स्टोन स्किपिङ प्रतियोगिता

हिमाल प्रेस २६ असोज २०८२ १९:५६
26
SHARES
सुनसरीमा पर्यटन प्रवर्द्धन गर्न स्टोन स्किपिङ प्रतियोगिता

इटहरी- चतरा हाइकिङले जैविक विविधताको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न स्टोन स्किपिङ (पानी–सुल्के) प्रतियोगिता आयोजना गर्ने भएको छ। कात्तिक ३ गते सुनसरीको बराहक्षेत्र नगरपालिका ४ र ५ मा पर्ने अमाह सिमसारमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिइयो।

चतरा हाइकिङका संस्थापक भीषण राईका अनुसार युवाहरूलाई स्वस्थ रहन उत्प्रेरणा जगाउने उद्देश्यका साथ आन्तरिक पर्यटन प्रवर्द्धन गर्न स्थापना भएको उक्त संस्थाले ऐतिहासिक, पुरातात्त्विक स्थलको प्रचारप्रसार, खोज अन्वेषण र सरोकारवाला निकायलाई ती ठाउँको विकास र प्रवर्धन गर्न प्रोत्साहन गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।

‘स्टोन स्किपिङ (पानी सुल्के) खेल नदी, नहर, तालतलैया, पोखरी आदिमा आधारित खेल हो,’ उनले भने, ‘खेल पर्यटनको विकासका लागि नेपालमा पहिलो पटक चतरा हाइकिङले नै प्रतियोगितात्मक रूपमा खेल खेलाउन सुरु गरिएको हो।’

पानी सुल्के प्रतियोगिता देशकै खेलकुदको र खेल पर्यटनको क्षेत्रमा विशिष्ट आयाम हुने उनको दाबी छ। युवा खेलाडी र पारखीहरूको सहभागितामा खेलाइने खेल स्थानीय युवामाझ रुचाइएको छ।

सप्तकोशी नदी किनारमा दशकौंदेखि अनौपचारिक रूपमा खेलिँदै आएको यो खेल प्रतियोगितात्मक रूपमा भने यसअघि नखेलाइएको बताउँदै उनले नदी किनार, तालतलैया, पोखरी आसपास बसोबास गर्ने समुदायले खेल्दै आएको बताए। यसअघि दुईपटक उक्त प्रतियोगिता भएको र अब तेस्रो वर्षमा प्रतियोगिता आयोजना गर्न लागिएको उनले जानकारी दिए।

राईले भने, ‘नदी, तलाउ, पोखरी वा पानीका सतहमा ढुंगा फ्याँकेर पानीमाथि तैर्‍याउने खेल नेपालको परम्परागत खेल हो। खास गरी चेप्टो र गोलाकार ढु‌ंगालाई पानीको सतहमा हुइँक्याएर पानीको सतहमा उक्त ढु‌ंगा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ।’ अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुंगा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन्।

‘पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको अमाह सिमसारलाई जैविक विविधता अध्ययन केन्द्रको रूपमा अमाह सामुदायिक वन उपभोक्ता समूहले अघि बढाइरहेको छ,’ स्थानीय पत्रकार नवराज विष्टले भने, ‘सिमसार क्षेत्रमा पाइने विविधतालाई अध्ययन गर्न बृहत विकास गुरुयोजना अन्तर्गत अमाह सिमसार जैविक विविधता अध्ययन केन्द्र नामकरण गरिएको र कोशी प्रदेशकै ठूलो सिमसार क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ। यही ठाउँको प्रचार गर्न पनि यही स्थलमा प्रतियोगिता आयोजना गरिएको हो।’

खास गरी उक्त पोखरी डेढ हेक्टर क्षेत्रफल (करिब २ बिघा) मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उनले बताए। खेल क्षेत्रमा विविधता थप्नु र मुलुकको मौलिक खेललाई औपचारिक रूपमा प्रस्तुत गर्नु नै मुख्य उद्देश्य रहेको संयोजक लक्ष्मण कटवालले बताए। उनका अनुसार खेल पर्यटनको विकासमा टेवा पुर्‍याउन आफूहरूको भूमिका हुने उनको भनाइ छ। प्रतियोगितामा १८ वर्षदेखि माथिका पुरुष, महिला र अन्य सहभागी हुन सक्नेछन्। प्रतियोगिताको प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २६ असोज २०८२ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast