पाकिस्ताको प्रहरी प्रशिक्षण केन्द्रमा आतंकवादी आक्रमण, सात अधिकारीको मृत्यु,

हिमाल प्रेस २५ असोज २०८२ १५:४३ | Saturday, October 11, 2025
पाकिस्ताको प्रहरी प्रशिक्षण केन्द्रमा आतंकवादी आक्रमण, सात अधिकारीको मृत्यु, फाइल तस्बिर
काठमाडौँ– पाकिस्तानको उत्तरपश्चिमी सहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा आतंकवादी आक्रमणमा कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको र १३ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।आक्रमणमा संलग्न छ जना आतंकवादी पनि मारिएका छन्। आक्रमण शुक्रबार अबेर राति भएको हो।

यो घटनालाई पछिल्ला वर्षहरूमा सो क्षेत्रमा बढ्दै गएको आतंकवादी हिंसाको अर्को उदाहरणका रूपमा हेरिएको छ। सशस्त्र समूहहरूको सक्रियता बढ्दै गएपछि पाकिस्तान अहिले बिग्रँदो सुरक्षा अवस्थासँग संघर्ष गरिरहेको छ।

डेरा इस्माइल खान सहरको बाहिरी क्षेत्र रट्टा कुलाचीस्थित प्रहरी प्रशिक्षण केन्द्रमा एक आत्मघाती बमवर्षकले विस्फोटक पदार्थले भरिएको ट्रक गेटमा ठोक्काउँदा ठूलो विस्फोट भएको थियो।

त्यसपछि अन्य आक्रमणकारीहरूले भारी हतियारसहित परिसरभित्र प्रवेश गर्ने प्रयास गरेको प्रहरीका वरिष्ठ अधिकारी सज्जाद अहमदले बताए।

‘प्रारम्भिक विस्फोटपछि आक्रमणकारीहरूले प्रशिक्षण केन्द्रमा आक्रमण गर्न सफल भए, त्यतिबेला करिब दुई सय भर्ती र तिनका प्रशिक्षकहरू भित्रै थिए,’ अहमदले भने।

उनका अनुसार प्रहरी र आतंकवादीहरूबीच करिब ६ घण्टासम्म गोली हानाहान भएको थियो। उक्त भिडन्तमा सात प्रहरी कर्मचारीको मृत्यु भएको र १३ जना घाइते भएको पुष्टि गरिएको छ।

प्रहरीको विज्ञप्तिअनुसार आक्रमण अत्यन्त योजनाबद्ध रूपमा गरिएको थियो। ड्युटीमा रहेका अधिकारीहरूले तत्काल प्रतिकारात्मक कारबाही गर्दै आक्रमणकारीहरूलाई नियन्त्रणमा लिन प्रयास गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, ‘विस्फोटक पदार्थले भरिएको ट्रक प्रशिक्षण विद्यालयको मुख्य गेटमा ठोक्किँदा ठूलो विस्फोट भयो, जसले पर्खालको केही भाग भत्कायो र एक प्रहरी अधिकारीले घटनास्थलमै ज्यान गुमाए।’

विस्फोटपछि वर्दीधारी आतंकवादीहरूले परिसरमा प्रवेश गरी स्वचालित हतियारले अन्धाधुन्ध गोली चलाएका र ग्रेनेडसमेत फ्याँकेका थिए। पछि प्रहरी र अर्धसैनिक बलहरूले संयुक्त रूपमा आक्रमणकारीहरूलाई नियन्त्रणमा लिँदै परिसर खाली गरेका थिए। भिडन्तमा छ जना आतंकवादी मारिएका र उनीहरूबाट आत्मघाती भेस्ट, विस्फोटक पदार्थ, हतियार तथा गोला–बारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ।

पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले मारिएका प्रहरी अधिकारीहरूको अदम्य साहस र बलिदानको प्रशंसा गर्दै ‘उनीहरूको वीरता देशको सुरक्षा र स्थायित्वका लागि अमूल्य योगदान हो’ भनेका छन्।

प्रतिबन्धित आतंकवादी संगठन तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी’ ले सुरुमा आक्रमणको जिम्मेवारी लिएको थियो। तर केही समयपछि दोस्रो विज्ञप्ति जारी गर्दै संलग्नता अस्वीकार गरेको थियो। यो समूह अफगानिस्तानमा सन् २०२१ मा सत्ता कब्जा गर्ने तालिबानसँग वैचारिक रूपमा सम्बन्धित भए पनि पृथक रूपमा सञ्चालनमा रहेको बताइन्छ।

पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता अहमद सरिफ चौधरीले पत्रकार सम्मेलनमा भने, ‘विशेषगरी अफगानिस्तान सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा सन् २०२१ देखि आतंकवादी गतिविधि उल्लेख्य रूपमा बढेको छ।’

उनले हालको बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्न पाकिस्तानले पछिल्ला वर्षहरूमा हजारौँ आतंकवाद विरोधी अपरेसन सञ्चालन गरेको जानकारी दिए।

उनका अनुसार यस वर्ष सेप्टेम्बर १५ सम्म देशभर १० हजारभन्दा बढी अपरेसनहरू सञ्चालन गरिएका छन्। तीमध्ये ९७० जना आतंकवादी मारिएका छन् भने ३११ जना सैनिक र ७३ जना प्रहरी अधिकारीहरूको ज्यान गएको छ।-रासस/एपी

प्रकाशित: २५ असोज २०८२ १५:४३ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast