
काठमाडौँ- हंगेरीका लेखक लास्लो क्रास्नाहोर्काईले २०२५ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्। स्विडिस एकेडेमीले बिहीबार उनलाई ‘अपोकालिप्टिक आतंकको बीचमा पनि कलाको शक्तिलाई पुनःस्थापित गर्ने सशक्त र दूरदर्शी कृतिहरूका लागि’ नोबेल पुरस्कार प्रदान गरिएको घोषणा गरेको हो।
स्विडिस एकेडेमीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, लास्लो मध्ययुरोपेली परम्पराका महान् महाकाव्य लेखक हुन्, जसको लेखन परम्परा काफ्कादेखि थोमस बर्नहार्डसम्म फैलिएको छ। उनका विशेषता विसंगतिवादी र विकृत अतिशयोक्ति हो।
स्विडिस रेडियोसँग कुरा गर्दै ७१ वर्षका लास्लोले भने, ‘म सुरुमा एउटा किताब लेख्ने योजनामा थिएँ तर पहिलो उपन्यास ‘सातानटांगो’ लेखेपछि आफ्नो लेखाइ अझ सुधार्न अर्को पुस्तक लेख्न मन लाग्यो। मेरो जीवन निरन्तर संशोधन र सुधारको यात्रा हो।’
‘विश्वको अहिलेको अवस्थाबारे सोच्दा म दु:खी हुन्छु र यही नै मेरो गहिरो प्रेरणाको स्रोत हो’, उनले बिहीबार नोबेल पुरस्कारको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा भनेका छन्। उनका उपन्यासहरूमा परिवेश मध्ययुरोपका टाढा गाउँ र सहरमा फैलिएका छन्।
अमेरिकी समीक्षक सुसान सोंटागले उनलाई आधुनिक साहित्यमा ‘प्रलयका गुरु’ का रूपमा वर्णन गरेकी थिइन्। २००२ मा इम्रे केर्टेसपछि नोबेल जित्ने दोस्रो हंगेरियन लेखक बनेका लास्लो क्रास्नाहोर्काई सन् १९५४ मा दक्षिणपूर्वी हंगरीको रोमानियाली सिमानासँगको सानो सहर ज्युला मा जन्मेका हुन्।
सन् १९८५ मा प्रकाशित उनको पहिलो उपन्यास ‘सातानटांगो’ ले उनलाई हंगेरीको साहित्यिक संसारमा एकाएक चर्चित बनाएको थियो। स्विडिस एकेडेमीका अनुसार उक्त उपन्यासले साम्यवाद पतन हुनुअघि हंगेरीको गाउँमा रहेको परित्यक्त सामूहिक फार्ममा बसोबास गर्ने एक निर्धन समूहको कथा अत्यन्त प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।