
काठमाडौँ- नेपाल प्रहरीले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै यसबारे स्पष्ट पारेको हो।
‘सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा प्रहरी महानिरीक्षकले कहीँकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराइएको छ।