इजरायल र हमासबीच बन्धक मुक्तिको सम्झौता, ट्रम्पको शान्ति योजनाको पहिलो चरण लागू

हिमाल प्रेस २३ असोज २०८२ ७:१२
52
SHARES
इजरायल र हमासबीच बन्धक मुक्तिको सम्झौता, ट्रम्पको शान्ति योजनाको पहिलो चरण लागू इजरायल र हमासले बिहीबार युद्धविरामसहितको शान्ति योजनाको पहिलो चरणमा सहमति गरेको घोषणापछि गाजाको केन्द्रीय भाग देइर अल-बलाहस्थित अल-अक्सा अस्पतालबाहिरको टेन्टमा टेलिभिजनको समाचार हेर्दै प्यालेस्टिनीहरू। तस्बिर : एपी/रासस

काठमाडौँ- इजरायल र हमास गाजामा बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्न सहमत भएका छन्। यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने योजनाको पहिलो चरण हो।
ट्रम्पले बुधबार राति ट्रुथ सोसलमा लेखेका छन्, ‘सबै बन्धकहरू चाँडै मुक्त गरिनेछन् र इजरायलले दिगो, बलियो र स्थायी शान्तितर्फको पहिलो कदमका रूपमा आफ्ना सैनिकलाई फिर्ता बोलाउनेछ।’

सम्झौतालाई ट्रम्पको युद्ध अन्त्य गर्ने नयाँ पहलमा महत्त्वपूर्ण प्रगति मानिएको छ। दुई वर्ष लामो यस युद्धले दसौँ हजार मानिसको ज्यान लिएको छ, गाजालाई ध्वस्त पारेको छ र मध्यपूर्वभर द्वन्द्वको लहर फैलाएको छ।

अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले ट्रम्पलाई ‘पहिलो घोषणा तपाईंले गर्न सक्नुहोस्’ भनी ट्रुथ सोसलमा पोस्ट स्वीकृत गर्न नोट दिएका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार भने, ‘सम्झौता स्वीकृत गरी हाम्रा प्रिय बन्धकहरूलाई घर फर्काउनेछौँ।’

४८ बन्धकमध्ये २० जना जीवित रहेको विश्वास गरिएको छ। वार्ताबारे जानकारी राख्ने स्रोतहरूका अनुसार इजरायली सरकारले सम्झौता अनुमोदन गरेको ७२ घण्टाभित्र उनीहरूलाई मुक्त गरिनेछ।

ट्रम्पको योजनाअनुसार इजरायलले करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्नेछ र गाजामा मानवीय सहायता प्रवेश गर्न दिनेछ। साथै इजरायली सेनालाई क्रमिक रूपमा गाजाबाट फिर्ता बोलाउने पहिलो कदमका रूपमा अगाडि बढाइनेछ।

नेतन्याहूले भने, ‘यो इजरायलका लागि महान् दिन हो। म आफ्नो मुटुको तल्लो कुनाबाट राष्ट्रपति ट्रम्प र उनको टोलीलाई बन्धकहरू मुक्त गराउने यस पवित्र प्रयासमा सक्रिय भूमिकाका लागि धन्यवाद दिन चाहन्छु।’

सम्झौता अमेरिकी दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुसनरले कतार, इजिप्ट र टर्कीका वरिष्ठ वार्ताकारहरूसँग इजिप्टमा गरेको अप्रत्यक्ष वार्तापछि बाहिर आएको हो।

मुख्य अरब मध्यस्थ कतारले सम्झौताको पुष्टि गर्दै भन्यो, ‘यो सम्झौताले युद्ध रोक्ने, इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने र सहयोग सामग्री प्रवेश गराउने मार्ग खोल्नेछ।’

ट्रम्पको २० बुँदे योजनाको दोस्रो चरणबारे सहमति गराउन अझै ठूला चुनौती बाँकी छन्। उक्त चरणमा हमासको नि:शस्त्रीकरण, इजरायली सेनाको थप फिर्ती र अन्तर्राष्ट्रिय सैन्य बलको तैनाथी प्रस्ताव गरिएको छ।

हमासले पहिले बन्धकहरू मुक्त गर्न तयारी देखाए पनि नि:शस्त्रीकरण गर्न सहमत हुनेबारे स्पष्ट भनेको छैन। यो सबैभन्दा विवादास्पद बुँदा हो। हमासले इजरायली सैनिक फिर्ती र अन्तर्राष्ट्रिय बलको भूमिकाबारे थप वार्ता चाहेको बताइएको छ।

नेतन्याहूलाई आफ्नै सत्तारूढ गठबन्धनका अतिवादी सदस्यहरूबाट पनि योजनाको केही बुँदामा विरोध सामना गर्नुपर्ने देखिन्छ।

अमेरिकी योजनाअनुसार गाजाको शासन एक प्यालेस्टिनी प्राविधिक समितिले गर्नेछ, जसलाई ट्रम्प र पूर्वब्रिटिस प्रधानमन्त्री टोनी ब्लेयरको नेतृत्वमा अन्तर्राष्ट्रिय पर्यवेक्षण निकायले निगरानी गर्नेछ।

अन्तर्राष्ट्रिय सैन्य बल पश्चिमी र अरब देशहरूले तालिम दिएका प्यालेस्टिनी प्रहरीसँगै काम गर्नेछ र इजरायली सैनिकहरू क्रमिक रूपमा फिर्ता हुनेछन्।

यस योजनामा उल्लेख छ, ‘गाजाका बासिन्दालाई जबर्जस्ती विस्थापित गरिने छैन, न त इजरायलले गाजामा स्थायी कब्जा वा विलय गर्नेछ। हतियार त्यागी ‘शान्तिपूर्ण सहअस्तित्व’ स्वीकार गर्ने हमास सदस्यहरूलाई आममाफी दिइनेछ।’

हमासले भने अमेरिकी तर्फबाट यस्तो सुनिश्चितता चाहेको छ कि बन्धकहरू मुक्त भएपछि इजरायलले पुनः युद्ध सुरु गर्ने छैन।

युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणपछि सुरु भएको थियो। जसमा १२ सय मानिस मारिएका थिए र २५० जना बन्धक बनाइए। ट्रम्पले गत महिनाको संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा अरब र मुस्लिम नेताहरूसमक्ष आफ्नो योजना प्रस्तुत गरेपछि वार्तामा तीव्रता आएको हो।

मार्चमा इजरायलले अघिल्लो युद्धविराम तोडी पुनः आक्रमण सुरु गरेको थियो। प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार ६७ हजारभन्दा बढी गाजावासी मारिएका छन्। गाजामा चरम भोकमरी फैलिएको छ।

ट्रम्पले सम्झौताको पहिलो चरण अन्तिम अवस्थामा पुग्दा भनेका थिए, ‘आवश्यक परे म यसै साताको अन्त्यसम्म मध्यपूर्व यात्रा गर्न तयार छु, ता कि दुवै पक्षलाई योजना स्वीकार गराउन सकूँ।’

यो युद्ध अन्त्यतर्फ अघि बढ्यो भने यसले ट्रम्पलाई अमेरिकाभित्रका दुवै दल (रिपब्लिकन र डेमोक्र्याट) बाट दुर्लभ समर्थन दिलाउने सम्भावना छ। ट्रम्पले सम्झौता घोषणा गरेपछि भने, ‘यो अरब र मुस्लिम विश्वका लागि, इजरायलका लागि, वरपरका सबै देशहरूका लागि र संयुक्त राज्य अमेरिकाका लागि एक महान् दिन हो।’

बुधबार साँझ ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार तथा परराष्ट्रमन्त्री मार्को रुबियोले घरेलु विषयमा भएको छलफलका बीच ट्रम्पलाई नोट दिएका थिए। त्यसपछि ट्रम्पले बैठक छोट्याउँदै भने,
‘अब म मध्यपूर्वमा केन्द्रित हुनुपर्छ, हामी सम्झौतासँग धेरै नजिक छौँ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: २३ असोज २०८२ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast