महेश बस्नेतको चुनौती- केपी ओली दोषी छन् भने पक्राउ गरेर देखाऊ

हिमाल प्रेस २२ असोज २०८२ १३:३१
26
SHARES
महेश बस्नेतको चुनौती- केपी ओली दोषी छन् भने पक्राउ गरेर देखाऊ

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन्।

बस्नेतमाथि जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा केही अगुवाहरूले मंगलबार प्रहरीमा उजुरी दिएका थिए। सो उजुरी प्रहरीमार्फत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको छ। त्यसको भोलिपल्ट बस्नेतले ओलीको पक्षमा बोल्दै सरकारलाई चुनौती दिएका हुन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘केपी ओली दोषी हुनुहुन्छ भने हिम्मत छ भने पक्राउ गरेर देखाऊ।’ त्यस्तै, नेताहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु गरिएको विषयमा उनले आक्रोश व्यक्त गरे। उनले भने,‘युवाको बलमा सत्तामा पुगेकाहरूबाट नै पहिले अनुसन्धान सुरु गर्नुपर्छ।’ उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नाम लिएर उनीहरूबाटै प्रक्रिया सुरु गर्न सुझाव दिए।

‘अरूलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन पाइँदैन,’ उनले थपे, ‘हामी दूधले नुहाएका होइनौं, तर ओभाना पनि छैनौं। यदि म महेश बस्नेत भ्रष्टाचारी हुँ भने कारबाही गर, होइन भने आरोप लगाएर खेलवाड नगर।’

बस्नेतले जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिबारे ओलीले युवा संघको कार्यक्रममा आफ्नो धारणा प्रष्ट गरिसकेको जानकारी पनि दिए। उनका अनुसार अब पार्टीका अन्य नेताहरूले पनि क्रमशः आफ्नो धारणा सार्वजनिक गर्नेछन्।

‘२४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ,’ उनले भने, ‘यो महिनाको अन्त्यसम्म एमालेले सबै आधिकारिक धारणा सार्वजनिक गर्नेछ।’

प्रकाशित: २२ असोज २०८२ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast