
काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैंकले गरेको हो।
प्रतिवेदनअनुसार सम्भावित दायरा ऋणात्मक १.५ देखि २.६ प्रतिशतसम्म रहन सक्छ। दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ शीर्षकमा मंगलबार प्रकाशित प्रतिवेदनमा विदेशी पर्यटक आगमनमा तीव्र गिरावट आउने अपेक्षा गरिएको छ।
यसैगरी सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिले बिमा उद्योगलाई असर गर्नेछ। लगानीकर्ताको कमजोर विश्वासका कारण निजी लगानी र जलविद्युतबाहेक अन्य निर्माण कार्यहरूमा अवरोध आउने सम्भावना प्रतिवेदनमा औँल्याइएको छ।
मुख्य धान उत्पादक प्रदेशमा ढिलो वर्षा भएकोले कृषि क्षेत्र प्रभावित हुनेछ। यद्यपि पुनर्निर्माणका प्रयासहरूले सन् २०२६/२७ मा पुनरुत्थानलाई सहयोग पुर्याउने र सन् २०२७/२८ सम्ममा अर्थतन्त्रमा गति आउने अपेक्षा गरिएको छ।