दल पुनर्गठनका लागि पहल गर्न २८ नेताहरूको आह्वान

हिमाल प्रेस २१ असोज २०८२ १६:३२
42
SHARES
दल पुनर्गठनका लागि पहल गर्न २८ नेताहरूको आह्वान

काठमाडौँ- विभिन्न राजनीतिक दलका नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई आ–आफ्नो पार्टी पुनर्गठनका लागि पहल लिन आह्वान गरेका छन्।
विभिन्न दलमा आवद्ध २८ जना राजनीतिकर्मीहरूले आ–आफ्नो दल पुनर्गठनका लागि पहल लिन आह्वान गरेका हुन्।

अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, जटिल कार्की, जेबि विश्वकर्मा, नवीन तिवारीलगायतका राजनीतिकर्मीहरू मंगलबार संयुक्त वक्तव्य निकालेर यस्तो आह्वान गरेका हुन्।

लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरी दलहरूको पुनर्गठन हुन नसक्ने भन्दै उनीहरूले आ–आफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा ढिलाई नगर्न आह्वान गरेका छन्।

‘राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य शर्त हो,’ वक्तव्यमा भनिएको छ,‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुनसक्दैन। त्यसैले आ–आफ्ना दलहरूलाई पुनर्गठन गर्ने क्रममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोस्रो/तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई आह्वान गर्दछौँ।’

राजनीतिमा संस्थागत भएको भ्रष्टाचारविरूद्ध आवाज उठिरहे पनि राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले आवाज नसुनेपछि जेनजी विद्रोह भएको उनीहरूको भनाइ छ।

पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुने भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई यस आन्दोलनले घुँडा टेकाएको २८ राजनीतिकर्मीहरूले जिकिर गरेका छन्।

जेनजीले राजनीतिमा नेतृत्वको हस्तान्तरण चाहिरहे पनि विभिन्न बहानामा नेतृत्वमा रहिरहन छलछाम भइरहेको वक्तव्यमा भनिएको छ।

‘राजनीतिक दलहरू जिम्मेवार बनुन भन्ने चाहन्छन्, राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहन्छन्। तर, राजनीतिक दलका नेताहरूले अझै पनि उक्त सन्देश नसुनेझैँ गरेका छन्। विभिन्न बहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन्। आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घाटक हुनेछ। यस्तो बहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ धकेल्ने छ,’ वक्तव्यमा भनिएको छ।

प्रकाशित: २१ असोज २०८२ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast