मकवानपुर- पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारीसाधनको ठक्करबाट ३ जनाको मृत्यु भएको छ।
बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधन ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो।
ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन सकेको छैन। स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए।
रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए।
उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए। ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ। ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।