जेनजी प्रदर्शन प्रभावित व्यवसायका लागि राष्ट्र बैंकले ल्यायो राहत प्याकेज

हिमाल प्रेस १० असोज २०८२ १५:४२
14
SHARES
जेनजी प्रदर्शन प्रभावित व्यवसायका लागि राष्ट्र बैंकले ल्यायो राहत प्याकेज

काठमाडौँ- नेपाल राष्ट्र बैंक जेनजी प्रदर्शनबाट प्रभावित व्यवसायका लागि राहतका प्याकेज घोषणा गरेको छ। यसअन्तर्गत बैंकले शुक्रबार परिपत्रमा संशोधन गरेको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रभावित उद्यमहरूको ऋण पुनर्संरचना र पुनःतालिका पुस मसान्तसम्म सम्पन्न गर्न निर्देश दिएको छ।

परिपत्रअनुसार आन्दोलनबाट प्रत्यक्ष प्रभावित व्यवसायहरू साथै तिनीहरूसँग अघिपछिका व्यापारिक सम्बन्ध भएका कम्पनीहरूले जम्मा ब्याजको ५ प्रतिशत तिरेर ऋण पुनर्संरचनाका लागि आवेदन दिन सक्नेछन्।

तातोपानी र रसुवागढी भन्सार नाकामा प्राकृतिक प्रकोपबाट प्रभावित व्यवसायहरू पनि पुस मसान्तसम्म ऋण पुनर्संरचना र पुनःतालिकाको सुविधा पाउनेछन्।

यसैगरी राष्ट्र बैंकले असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न रोजगारदाता संस्था/प्रतिष्ठानले ‘पेरोल प्रोटेक्सन स्किम’ ल्याएकाे छ। यसका लागि बैंकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउन कर्जा माग गर्न सक्नेछन्।

राष्ट्र बैंकले बैंक्हरुलाई जारी गरेको परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा ०.५० (शून्य दशमलब पाँच) प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नुपर्नेछ।’

उक्त प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, सोही अवधिसम्मका लागि मात्र प्रवाह गर्नुपर्ने निर्देशनमा उल्लेख छ। यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्मका लागि दुई प्रतिशत ब्याजदर नेपाल सरकारले अनुदान दिने उल्लेख छ।

उक्त अनुदान नेपाल सरकारबाट प्राप्त भएपछि ऋणीलाई उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्रमा निवेदन दिइसक्नुपर्नेछ। प्रदर्शनका क्रममा नष्ट भएका सवारीसाधनको प्रतिस्थापनका लागि लोन–टु–भ्यालु अनुपात ६० प्रतिशतबाट ८० प्रतिशतमा वृद्धि गरेको छ।

प्रकाशित: १० असोज २०८२ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast