पोखरामा खुला पर्वतीय दौड हुने

हिमाल प्रेस ४ असोज २०८२ ८:०२ | Saturday, September 20, 2025
पोखरामा खुला पर्वतीय दौड हुने

काठमाडौँ- विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) आगामी असोज ११ गते देशको पर्यटकीय राजधानी पोखरामा खुला पर्वतीय दौड आयोजना गरिने भएको छ ।

पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रवर्द्धनका लागि आयोजित दौड पोखरा-२२ विश्वशान्ति स्तूपबाट सुरु हुने जनाइएको छ ।

सो दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुने आयोजक पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।

उनका अनुसार प्रतियोगिताका लागि मधेश प्रदेशबाहेक अन्य छ प्रदेशका एक सय खेलाडीहरूले नाम दर्ता गराएका छन्। प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले समेत नाम दर्ता गराएका छन्। बरालका अनुसार प्रतियोगितामा दुई सयदेखि २५० जनासम्म खेलाडीहरू सहभागी गराउने लक्ष्य छ।

प्रतियोगिताअन्तर्गत आठ किलोमिटर पर्वतीय दौड खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्ष माथिका भेट्रानतर्फको प्रोत्साहन गरी छ वटा इभेन्ट समावेश गरिएको छ। प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद ५० हजार प्राप्त गर्नेछन्। यसैगरी द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्तलाई क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीन हजार पुरस्कार पाउने अध्यक्ष बरालले जानकारी दिए।

यसैगरी वडास्तरीय, खुला महिला र यू १६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही रु सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ। प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ।

भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ। नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तूप समिति, पुम्दीकोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलगायतले सहयोग गरेका छन् ।

प्रकाशित: ४ असोज २०८२ ८:०२ | Saturday, September 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast