
काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौला पन्तले संविधान दिवसको अवसरमा जेनजीसहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधानलाई जीवन्त दस्तावेजको रूपमा सम्मान गर्नुपर्ने बताएकी छन्।
उनले भनिन्,‘नेपालमा दशकौँ लामो संघर्ष र बलिदानपछि जननिर्वाचित संविधानसभाबाट बनेको संविधानले १० वर्ष पूरा गरेको छ। यस अवधिमा सामाजिक, आर्थिक सूचकका साथै मानव अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ तर भ्रष्टाचार नियन्त्रण र पर्याप्त रोजगारी सिर्जना गर्न भने सकिएन। हुने खाने र हुँदा खानेबीचको ‘ग्याप’ अझै बढेको छ।’
पन्तले जेनजी पुस्ताले हालैको आन्दोलनमार्फत उठाएका मुद्दाहरूलाई संविधानभित्रैबाट सम्बोधन गर्नुपर्ने बताइन्। उनले कांग्रेसले आफ्ना कमी कमजोरी सच्याउँदै नयाँ भिजन र कार्यक्रमसहित जनतामाझ जानुपर्ने बताउँदै अन्य विकल्प खोज्न नहुने धारणा राखिन्।