शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पीस्किन रोग संक्रमण पुष्टि

हिमाल प्रेस ३ असोज २०८२ ८:३४
8
SHARES
शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पीस्किन रोग संक्रमण पुष्टि

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पीस्किन रोगको संक्रमण पुष्टि भएको छ। गाईको बाच्छीमा रोगका लक्षण देखिएपछि पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमुना संकलन गरेको हो।

संकलित नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो। नमुनाको पिसिआर विधिबाट परीक्षण गरिँदा लम्पीस्किन पुष्टि भएको पशु चिकित्सक जोशीले जानकारी दिए।

जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा दुई वर्षअघि मात्र लम्पीस्किन रोग देखिएको थियो। त्यसयता हालसम्म यो पहिलोपटक पुनः संक्रमण भेटिएको हो। हाल एकमात्र गाईको बाच्छीमा रोग देखिएको भए पनि आसपासका गाईभैँसीलगायत अन्य पशुमा भने लक्षण भेटिएको छैन।

‘कुन ठाउँबाट रोग फैलिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, उनले भने, ‘गत आर्थिक वर्षको अन्त्यतिर देखिएको यो वेभ सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक पुनः देखापरेको छ।’

सुदूरपश्चिम प्रदेशमा लम्पीस्किनविरुद्धको खोप न्यूनमात्र लगाइएको र वर्षायाम चलिरहेकाले रोग व्यापक फैलिने चुनौती रहेको वरिष्ठ पशु चिकित्सक जोशीले बताए। उनका अनुसार खोप सबैभन्दा प्रभावकारी उपाय भए पनि प्रदेशमा हाल मौज्दात नभएकाले रोगले विगत २०८० सालमा जस्तै विकराल रूप लिन सक्ने देखिन्छ।

प्रकाशित: ३ असोज २०८२ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast