
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले प्रत्यक्ष सेवा लिने कार्यालयहरूबाट तत्काल सेवाप्रवाह सुरु गर्ने जनाएका छन्। विषम् परिस्थितिमा कोही पनि हतोत्साहित हुन नहुने र सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
गत मंगलबार जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न सरकारी कार्यालयहरू, व्यापारिक प्रतिष्ठान तथा व्यक्ति विशेषको घरमा तोडफोड र आगजनी गरी ठूलो क्षति गरिएको थियो।
गत २३ र २४ भदौमा देशभर प्रदर्शन भइरहँदा मुख्यमन्त्री पाण्डे एक कार्यक्रममा भाग लिन दुबई पुगेका थिए। दोस्रो दिनको प्रदर्शनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालयहरू, मुख्यमन्त्री निवासदेखि मन्त्रीहरूका निवास, संघ, प्रदेश तथा जिल्ला तहका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भइसकेको थियो।
हालै दुबईबाट फर्किएका मुख्यमन्त्री पाण्डेले घटनाको एक सातापछि मंगलबार मुख्यमन्त्री कार्यालय, संसद् भवनदेखि विभिन्न मन्त्रालयको अवलोकन गरेका हुन्। सो अवसरमा मन्त्रीहरू, मन्त्रालयका सचिव लगायतको सहभागिता थियो।
अवलोकनकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले जेनजीको आन्दोलनमा जुन क्षति भयो, यसलाई बुझेर पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए। यसबारे संघ सरकारसँग पनि छलफल गर्नुपर्ने उनको भनाइ थियो। ‘गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमात्र जलेको होइन, देशैभरिका सरकारी कार्यालय जलेको अवस्था हो,’ उनले भने, ‘व्यवस्थापिका जलेको छ, न्यायपालिका जलेको छ, कार्यपालिका जलेको छ। तर पनि हामी प्रत्यक्ष जनताले सेवा लिने कार्यालयहरूबाट सेवा सुरु गर्छौँ।’
जेनजीको आन्दोलन कतिपय अवस्थामा जायज भए पनि आन्दोलनमा घूसपैठ हुँदा यत्रो सरकारी सम्पत्ति जलेर खरानी भएको उनको ठहर छ।
उनले भने, ‘चित्त नबुझेको कुरामा माग राख्न पाउने आफ्नो संवैधानिक अधिकारै हो। शान्तिपूर्ण भनिएको आन्दोलन जुन हिंसात्मक बन्यो, घूसपैठ भयो। भड्काउने तत्वको पहिचान हुनुपर्छ। व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगो लगाउने काम गलत हो।’
पोखरामा जेनजीको प्रदर्शनमा भौतिक, कृषि र स्वास्थ्य बाहेक सबै मन्त्रालयहरू जलेर भष्म भएका छन्। महत्त्वपूर्ण कागजातहरु नष्ट भएका छन् भने फर्निचर लगायत भौतिक संरचना जलेका छन्।
मुख्यमन्त्री कार्यालयमा कर्मचारीहरूले जलेका संरचनाहरू संकलन गरी कार्यालय परिसरमा थुप्रो लगाएर राखेका छन्। मुख्यमन्त्री कार्यालयका सचिव रमेश ढकालले गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयको मात्रै ४३ वटा चारपाङ्ग्रे र १ सय २ वटा दुईपाङ्ग्रे सवारीसाधन जलाइएको छ भने केहीमा तोडफोड भएको बताए।
प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयसहित प्रदेशका अन्य मन्त्रालय, आयोग तथा सरकारी निवासहरूमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका छन्। सो घटनामा सवारीसाधन, टिभी, कम्प्युटर, ल्यापटप, स्क्यानर, क्यामरा, प्रिन्टर र फर्निचरजस्ता महत्वपूर्ण जिन्सी सामग्रीहरू चोरी भएको जनाइएको छ। ती सामानहरू सकुशल फिर्ता गर्न आग्रह गरिएको छ। सामान फिर्ता गर्नेहरुको पहिचान गोप्य राखिने छ र अटेर गरी फिर्ता नगरे सिसीटिभी फुटेज तथा फोटोहरुको आधारमा व्यक्तिको पहिचान गरी कानुनी कारबाही चलाउने चेतावनी दिइएको छ।
गण्डकी प्रदेश राजधानी पोखरास्थित सरकारी कार्यालयहरुमध्ये करिब ९८ प्रतिशतमा तोडफोड तथा आगजनी भएको अनुमान छ। समग्रमा क्षतिको यकिन तथ्यांक अझै आउन सकेको छैन।