
बागलुङ- बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका-४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ-पूर्वी रुकुम खण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो।
आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो। रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला-४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए। लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन्।
बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधन कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ। लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको उनले बताए।
निरन्तर वर्षाका कारण लोकमार्गका विभिन्न ठाउँमा पहिरो जाने र रूख ढल्ने गर्दा ठाउँठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए।