रवि लामिछाने पाँचवटा माग राखेर फर्किए कारागार

हिमाल प्रेस २८ भदौ २०८२ २२:१९ | Saturday, September 13, 2025
रवि लामिछाने पाँचवटा माग राखेर फर्किए कारागार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने शनिबार नख्खु कारागार फर्किएका छन्। लामिछाने पाँचवटा माग राखेर कारागार फर्किएका हुन्।
उनी साँझ कारागार प्रवेश गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीले बताए।

लामिछानेले आफ्नो जन्मदिनका दिन उपहारस्वरूप फेरि कारागारमा फर्किन लागेको बताएका छन्। लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अबचाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु।’

जेनजीको अगुवाइमा भएको आन्दोलनका क्रममा कारागारमा समेत तोडफोड भएपछि लामिछाने मंगलबार कारागारबाट निस्किएका थिए। कारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेपछि उनी फर्किएका हुन्। लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

कारागारबाट बाहिरिँदा उनलाई प्रशासनले पत्नी निकिता पौडेल लामिछानेको जिम्मा लगाएको थियो। उनले कारागार फिर्ता हुनुअघि पाँचवटा माग अघि सारेका छन्।

यस्ता छन् रविका माग

१. २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ।
२. देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ।
३. कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ। सुब्बादेखि न्यायाधीशसम्मले फेरि जाँच दिनुपर्छ।
४. सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ।
५. सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागू हुनुपर्छ।

प्रकाशित: २८ भदौ २०८२ २२:१९ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast