जेन-जी गण्डकीको पत्रकार सम्मेलनमा अर्को समूह पनि छिरेपछि…

हिमाल प्रेस २६ भदौ २०८२ २१:१७
जेन-जी गण्डकीको पत्रकार सम्मेलनमा अर्को समूह पनि छिरेपछि…

पोखरा- आन्दोलन सफल भए पनि जेन–जी आपसमा विभक्त छन् भन्ने पोखरामा समेत देखियो। कुरा हो–बिहीबार साँझको। जेन–जी गण्डकी प्रदेश आयोजक नाममा साँझ साढे ६ बजे पत्रकारको निम्तो आयो। राति ७ बजेदेखि लागू हुने प्रशासनले कर्फ्यू आदेश गरिसकेको थियो।

निर्धारित समयमा सम्मेलनस्थल पुग्दा आयोजक भने कोही देखिएनन्। पत्रकार र सञ्चारकर्मीले आधा घण्टासम्म कुरेपछि ७ बजे एक युवती हातभरि कागजको बण्डल बोकेर हँस्याङफँस्याङ गरी ढोकाबाट छिरिन्।

ती युवती विल्पवी न्यौपाने, जो हालै सम्पन्न स्ववियू निर्वाचनमा पृथ्वीनारायण क्याम्पसबाट अध्यक्षका लागि स्वतन्त्र उम्मेदवार थिइन्। कानुनको समेत विद्यार्थी उनी चुनाव नजिते पनि राम्रै मत प्राप्त गरेकी थिइन्।

पत्रकार सम्मेलनको सुरुआत गर्दै उनले जेन–जीबीच बिहीबार करिब १० घण्टाको भर्चुअल बैठकका निष्कर्ष सुनाउन थालिन्। उनका अनुसार बैठकमा एक हजार जना सदस्य थिए। जसले अहिलेको संवैधानिक संकटको निकासका लागि ११ बुँदे माग प्रस्तुत गर्ने निर्णय गरेको न्यौपानेको भनाइ थियो।

मागमध्ये संघीय संसद् तत्काल विघटन, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने प्रस्तावमा समर्थन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, समानुपातिक निर्वाचन प्रणाली खारेजसम्मका थिए।

पत्रकार सम्मेलन चलिरहँदै एक युवक अघि सरे र बोल्न थाले। सन्तोष रेग्मी नाम बताउने उनले आफूहरु पनि जेन–जीको एक समूह भएको दाबी गर्दै प्रस्तुत मागबारे समर्थन जनाउन आएको बताए। उनका अनुसार आफ्नो समूहमा १ सय ६६ जना सदस्य छन्।

पत्रकार सम्मेलनमा सहभागी जेन–जीहरुले बताए अनुसार गण्डकीमै जेन–जीका आठ–दश वटा समूह छन्। तर कुन आधिकारिक हुन् वा कुन होइनन् भन्ने यकिन छैन। तर जे भए पनि जेन–जीले उठाएका मागहरु तत्काल सम्बोधन हुनुपर्ने र संवैधानिक संकट निम्तिन नहुनेमा उनी पनि सचेत थिए।

अर्का आर्यन जैसवालले आफूहरुलाई ‘राजावादी’ भनिए पनि त्यसो नभएको दाबी गरे। उनले भने, ‘हामी राजावादी होइनौं, हुन्थ्यौँ भने प्रेस विज्ञप्तिमा ‘राजा’ भन्ने शब्द हुन्थ्यो नि।’

उनले जेन–जीको आन्दोलनका क्रममा गत मंगलबार पोखरामा तीन दर्शनभन्दा बढी सरकारी संरचना तथा व्यापारिक प्रतिष्ठानमा तोडफोड वा आगजनीमा आफूहरु संलग्न नभएको जिकिर गरे। उनले भने, ‘हामीहरु सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न थिएनौं, घूसपैठ भएन पनि भन्न सकिन्नँ। तर हामीहरु जिम्मेवार हौं।’ उनले जेन–जी आन्दोलनको पहिलो दिन २३ भदौलाई जेन–जी दिवस घोषणाको माग पनि आफूहरु संलग्न बैठकले निर्णय गरेको जानकारी दिए।

जेन–जीको आन्दोलनका क्रममा आन्दोलनकारीहरुले पोखरामा कैयौं सरकारी कार्यालय, सार्वजनिक तथा निजी सम्पत्तिमा आगो झोसेका तहसनहस पारेका छन्।

प्रकाशित: २६ भदौ २०८२ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast