
काठमाडौँ- कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवा पुस्तालाई सडक जेनजी पुस्ताको प्रदर्शनलाई नयाँ सुरुवात भएको भन्दै समर्थन दिएका छन्। आज जेनजी पुस्ताले काठमाडौँमा प्रदर्शन गर्दैछन्।
जुन प्रदर्शनलाई लामिछानेले समर्थन दिएका हुन्। उनले आज प्रदर्शनलाई इतिहासको नयाँ सुरुवातको अवसरको रूपमा लिँदै सचेत, विवेकपूर्ण र सक्रिय रहन आह्वान गरेका हुन्।
लामिछानेले आइतबार निजी सचिवालयमार्फत जारी गरेको सन्देशमा भनेका छन्, ‘प्रिय जेन्जी, तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ। धेरैको लागि यो पहिलो प्रदर्शन हुन सक्छ। शासकहरूले तपाईँहरूसँग विधि र विवेकको शासन दिएनन्, सामाजिक सञ्जालको सानो ठाउँ पनि खोसे। तर तपाईँहरूको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति छ।’
उनले थपे, ‘घुसपैठ र उत्तेजना हुनसक्छ, तर विवेक प्रयोग गर्नुस्। तपाईँहरूको आफ्नै इतिहास र देशको इतिहास तपाईँकै हातबाट लेखिँदैछ।’
लामिछानेले नख्खु कारागारबाट युवाप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता समेत प्रकट गरेका छन्।