
काठमाडौँ- प्राडा लालमणि पाण्डेयद्वारा लिखित दण्डनीति ‘हिन्दू शासनकला र रामराज्य’ पुस्तक विमोचन गरिएको छ।
आज (शुक्रबार) यहाँ आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा र पुष्पा भुसाललगायतले संयुक्त रुपमा सो पुस्तक विमोचन गरेका हुन्।
इन्डिगो इंकले प्रकाशन गरेको सो पुस्तक प्राचीन हिन्दू राजनीतिक विचारधारासँग सम्बन्धित विषयमा रहेको जनाइएको छ। मन्त्री पाण्डेले पछिल्ला समय पूर्वीय दर्शन, चिन्तन र सांस्कृतिक पुनर्जागरण, विश्वास र निष्ठामा स्थापित भइरहेको धारणा व्यक्त गरे। उनले प्राडा पाण्डेयको यस पुस्तक समाज र राजनीतिका लागि उपयोगी साबित हुनाका साथै राजनीतिक व्यक्तित्वलाई दिशाबोध गर्ने विश्वास व्यक्त गरे।
‘पुनर्जागरणको अवस्था जल्दोबल्दो छ। गुरुकूल स्थापना र बिहारमा बौद्ध शिक्षाको आकर्षक बढ्दो छ,’ उनले भने, ‘आफ्ना संस्कृतिप्रतिको आकर्षक बढेको छ। निष्ठा र विश्वासनीयता बढेको छ, पहिचान खोज्न थालेका छन्। यो संस्कृतिको एक पक्ष हो। प्राण तत्व हो।’
सो कार्यक्रममा लेखक प्राडा पाण्डेयले हिन्दू राजनीति दर्शन, सनातन परम्पराको राजनीति चिन्तन के थियो भन्ने विषयमा यस पुस्तकमा आफूले संक्षिप्तमा प्रकाश पार्न कोसिस गरेको बताए।