
काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सरकार निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्पर रहेको बताएका छन्।
शुक्रबार निर्माण व्यवसायी संघ कञ्चनपुरको २८ औँ साधारणसभा एंव १५ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायको क्षेत्र मिलेर विकास निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिए।
‘सरकारी निकायको पनि पूर्ण रुपले क्षमता वृद्धि भएको छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारी र गैरसरकारी निमार्णसँग सम्बन्धित संस्थाहरुको क्षमता वृद्धि भएमात्रै राष्ट्र निमार्णको आधार तयार गर्न सकिन्छ।’
समयमा विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाहरुको लागत बढ्दै गएकाले निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम गर्नुपर्ने बताए।
‘निर्माण व्यसायीहरुले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ,’ मन्त्री लेखकले भने, ‘निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ। कुनै पनि सार्वजनिक काममा अशान्ती हुँदैन।’
उनले मुलुकभर विकास निर्माणका काममा चन्दा असुली गर्ने, धम्काउने जस्ता गतिविधिहरु सरकारले सहन गर्न नसक्ने बताए।
पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमा काम हुन नसक्ने समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्ने बताए।
‘भौतिक पूर्वाधारका काममा गुणस्तरीयता आवश्यक छ, गुणस्तरीय काम हुन सकेन भने राज्यको अर्थको अपबेय हुन्छ नागरिकले ठीक ढंगले सेवा लिन सक्दैन,’ उनले भने, ‘समयमा काम सम्पन्न नहुँदा आयोजनाको मूल्य बढ्दै गएको छ,अहिले एउटै आयोजनाको दुई सय प्रतिशतसम्म मूल्यअभिवृदि भएको छ।’
उनले यसमा निर्माण व्यवसायीमात्रै दोषि नभएको स्पष्ट पारे। राष्ट्रिय निमार्ण क्षमताको अभिवृद्धि गर्नुपर्ने लेखकको भनाइ थियो। विकास निर्माण र भौतिक निर्माणको क्षेत्रमा काम गर्ने सबै निकायलाई राम्रो गर्दै जार्नुपर्ने उनले बताए।
त्यसैगरि उनले वर्तमान सरकारको प्राथमिकतामा नीतिगत र कानूनी सुधार, सुशासन र दण्डहीनताको अन्त्य गरी विकास निमार्ण लाई द्रुतगतिमा अगाडि बढाउने रहेको बताए।
वर्तमान सरकार अर्थतन्त्रलाई लयमा ल्याउने उद्देश्यका साथ काम गरिहेको उनको भनाइ थियो।