
काठमाडौँ- नेपालमा दर्ता भई सञ्चालनमा रहेका सवारीसाधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गर्न सर्वत्र दबाब बढे पनि सरकार भने पछि नहट्ने भएको छ। सरकार अदालतको निर्णय देखाउँदै अंग्रेजी भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने अडानमा रहेको हो।
पासपोर्ट र सवारीचालक अनुमतिपत्र पनि अंग्रेजीमै छापिने भएकाले इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा छाप्दैमा नेपाली भाषा नमासिने दाबी सरकारको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस्तो दाबी गरेका हुन्। उनले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्न सर्वोच्च अदालतले बाटो खोलिदिएको बताए। उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राखिँदैमा नेपाली भाषा मासिँदैन।’
मन्त्री दाहालले सवारीमा इम्बोस्ड नम्बरका लागि सम्झौता भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने बताए। उनले भने, ‘सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्नका लागि तीन पटकसम्म सम्झौता भएको देखिन्छ, वर्तमान सरकारले सम्झौता गरेको होइन। जडान नगर्ने हो भने तीन अर्ब रुपैयाँ सित्तैँमा निर्माण कम्पनीलाई दिनुपर्ने हुन्छ।’
सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णयविरुद्ध राजनीतिक दलका नेता, भाषा आयोग, नेपाली भाषा र लेखकसँग सम्बन्धित संघसंस्था, यातायात व्यवसायी र मजदुरहरूले विरोध गरेका छन्। लाखौँ सवारीसाधनमा नेपाली भाषाको प्रयोग नहुँदा नेपाली भाषाको अस्तित्व हराउँदै जाने चिन्ता उनीहरूको छ। उनीहरूले अंग्रेजीमा इम्बोस्ड नम्बर राख्नु संविधानविपरीत रहेको बताएका छन्।
कोशकार, संस्कार शिक्षाका अभियन्ता, वैदिक अनुसन्धान गुठी (वाग्) का अध्यक्षसमेत रहेका डा. स्वामी केशवानन्द गिरिले सत्तामा बसेकाहरूले नेपालको मौलिक भाषा र संस्कृतिमाथि धावा बोलेर विकास, प्रगति र समुन्नतिको राग अलापिरहेको आरोप लगाए। उनले विदेशका थुप्रै देशले इम्बोस्ड नम्बरमा आफ्नो भाषा अटाएको स्मरण गराएका छन्।
‘हाम्रोमा पनि अट्छ। बुद्धिहीन सरकारी नोकरहरूलाई नेपाली भाषा प्रविधिले पढ्दैन भन्ने लाग्छ भने सत्ताको गाँजाको नशा छोडेर यता आउँदा हुन्छ, हामी पढाएर पठाउन तयार छौँ’, डा. गिरिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज भाषा चढाउने यो एक चरण हो, भोलि नेपाली संवत्, पर्सि ध्वजा अनि बाँकी रहने ढुंगामाटो न हो त्यो त विदेशी वाद र सिद्धान्तको सानो बाढीले नै बगाइदिन्छ र बगाइ पनि रहेको छ।’
भाषा आयोगले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य जडान गर्नुपर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय संविधानविपरीत भएको जनाएका छन्। अध्यक्ष ठाकुरले नेपालको संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने स्पष्ट उल्लेख भएकाले विद्युतीय संकेत संख्या देवनागरी लिपिमा राख्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरेका छन्।
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले सवारीसाधनको नम्बर प्लेटबाट नेपाली भाषा विस्थापित गराउने सरकारी निर्णयको कडा विरोध गरेको छ। सञ्जालले संविधानको मर्मविपरीत अंग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर राख्ने निर्णय त्रुटिपूर्ण भएकाले तत्काल सच्याउन सरकारसँग माग गरेको हो। ‘विभिन्न देशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने अभ्यास भए पनि ती देशले आआफ्नै भाषाका लिपिको प्रयोग गर्ने गरेकामा नेपाली भाषा हटाएर अंग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णय घोर आपत्तिजनक र निन्दनीय छ’, सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले भनेका छन्।
सञ्जालले नेपाली भाषाको रक्षा गर्नुपर्ने सरकारबाट नेपाली भाषामाथि बारम्बार प्रहार भइरहेको र नेपाली भाषाको अपमान गरिएकोमा दुःख व्यक्त गरेको छ। ‘सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्नैपर्ने भए प्रचलित रङअनुरूपकै प्लेटमा नेपालको पहिचान झल्किने गरी नेपाली भाषामा राखिनुपर्छ’, लुइटेलले भनेका छन्। इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा पनि राख्नैपर्ने भए नेपाली र अंग्रेजी दुवै भाषामा राख्नका लागि सञ्जालले माग गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णय अवज्ञा गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘अंग्रेजीमा इम्बोस्ड नम्बर राख्ने सरकारी निर्णय त्रुटिपूर्ण र संविधानको भावनाविपरीत छ।अस्वीकार गरौँ, अवज्ञा गरौँ।’ थापाले प्राविधिक वा अन्य कारणले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर’ राख्नैपर्ने हो भने त्यो नेपाली भाषामा देवनागरी लिपिमा हुनुपर्नेमा जोड दिएका छन्।
एमालेका सांसद सुहाङ नेम्बाङले भाषाप्रतिको माया र भावनाको विषय जोड्दै इम्बोस्ड नम्बर प्लेटको निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन्। ‘आमजनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाइरहेका छन्। त्यसैले मेरो विनम्र आग्रह छ- सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको सुनिश्चितता गरेपछिमात्र चरणबद्ध रुपमा अघि बढाइयोस्’, उनले प्रतिनिधिसभा बैठकमा बुधबार भने।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारले तयारी नै नगरी बलजफ्ती रूपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अर्को अन्याय गरेको आरोप लगाएका छन्। उनले भने, ‘इम्बोस्ड नम्बरको औचित्य नै पुष्टि नगरी र नेपाली भाषा-लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावनाविपरीत कदम हो।’
नेपाली लेखक संघले नेपाली सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेको छ। ‘नेपालभित्र दर्ता भएका सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा हुनुपर्ने भन्ने सरकारको निर्णय यथावत् रहेको र कार्यान्वयनमा समेत लग्न खोजेको विषयप्रति नेपाली लेखक संघको गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष बुढाथोकी र महासचिव सोझो गाउँलेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रगतिशील लेखक संघले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्ने निर्णय अनुचित रहेको भन्दै सच्याउन माग गरेको छ। ‘सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय उचित छैन। सरकारको यस्तो कार्यबाट नेपाली भाषाको अपमान भएको ठहर गर्दै यसबारे गम्भीर ध्यानाकर्षण गराउन जोडदार माग गर्दछौँ’, अध्यक्ष देवी क्षेत्री दुलाल र महासचिव पारस ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संघले सरकारको यस्तो निर्णयमा एकस्वरमा विरोध जनाउन नेपालका कम्युनिस्ट पार्टीहरू र अन्य राजनीतिक दलहरूलाई अपिल गरेको छ।
सुनकोशी वाङ्मय प्रतिष्ठानले सवारीसाधनहरूमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा हुनुपर्ने निर्णयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘नेपालभित्र दर्ता भएका सवारीसाधनमा नेपाली नम्बर नराखी अंग्रेजी नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन हुन जान्छ। नेपाली सवारीसाधनमा प्रयोग गरिने इम्बोस्ड नम्बर देवनागरी लिपिमै हुने गरी जडान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गर्दछौ’, प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल र महासचिव प्रदीप सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले नेपालको संविधानविपरीत इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषालाई विस्थापित गरेर अंग्रेजीमा मात्र इम्बोस्ड नम्बर राख्ने सरकारको निर्णय अत्यन्त खेदपूर्ण रहेको जनाएको छ। संघका अध्यक्ष राजेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा नेपाली भाषाको रक्षा गर्नुपर्नु सरकारबाट नै नेपाली भाषाप्रति गरिने अपमान र बारम्बार प्रहार भइरहेको उल्लेख छ। च्याप्टरले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको मागप्रति ऐक्यबद्धता जनाएको छ।
च्याप्टरले नेपालका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्नैपर्ने भए सरकारी निर्णय तत्काल सच्याएर प्रचलित रङअनुरूपकै प्लेटमा नेपालीपन झल्कने गरी अनिवार्य रूपमा नेपाली भाषामा राख्न माग गरेको छ।
राष्ट्रिका साहित्य प्रतिष्ठानले संविधानविपरीत इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषालाई विस्थापित गरेर अंग्रेजी भाषमा मात्र इम्बोस्ड नम्बर राख्ने सरकारको निर्णयलाई खेदपूर्ण भनेको छ। संसारका विभिन्न मुलुकका सवारीसाधनमा प्रयुक्त इम्बोस्ड नम्बर प्लेटमा आफ्नै भाषा प्रयोग हुने स्मरण गराएको छ। प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले जारी गरेको विज्ञविज्ञप्तिमा उल्लेख छ, ‘नेपाली भाषा हटाएर अंग्रेजी भाषामा मात्र इम्बोस्ड प्लेट राख्ने सरकारी निर्णय कुनै पनि दृष्टिबाट उपयुक्त छैन।’ प्रतिष्ठानले पनि मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको मागप्रति ऐक्यबद्धता जनाएको छ।
‘सरकारी निर्णय तत्काल सच्याएर प्रचलित रङअनुरूपकै प्लेटमा नेपालीपन झल्केन गरी अनिवार्य रूपमा नेपाली भाषामा राख्न माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
यातायात मजदुर संघसंगठनहरूले सवारीसाधनमा अंग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारसँग माग गरेका छन्। सरकारी कामकाजको भाषा देवनागरी लिपिमा हुनुपर्ने प्रावधान रेहको नेपालको संविधानको मर्मविपरीत अंग्रेजी भाषामा लेखिएका इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयन नगर्न तीनवटा संघसंगठनले संयुक्त रूपमा माग गरेका हुन्।
‘इम्बोस्ड नम्बर प्लेटमा हुने आरएफआईडी (रेडियोफ्रिक्वेन्सी आइडेन्टीटी) चिप्सलाई रिङ गर्ने प्राविधिक पूर्वाधारको व्यवस्था नगरी यो निर्णय कार्यान्वयन नगर्न सरकारसँग अपिल गर्दर्छौँ’, नेपाल यातायात मजदुर संघका अध्यक्ष, धर्मराज भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले देवनागरी लिपि नै मास्न खोजेको आरोप लगाएका छन्। ‘जबर्जस्ती रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न खोजिए परिस्थिति असहज हुन सक्ने भन्दै महासंघले यातायात मन्त्रालय र मातहतका निकाय नै जिम्मेवार रहने महासंघका महासचिव भरत नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले इम्बोस्ड नम्बर प्लेटमा राष्ट्रिय भाषा नेपाली नै प्रयोग गर्ने व्यवस्था गर्न माग गरेको छ। समाजका अध्यक्ष दीपक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अंग्रेजी नम्बर प्लेट नेपालको संविधानविपरीत रहेकाले तत्काल जडान नगर्न सम्पूर्ण ट्याक्सी व्यवसायी र चालक मजदुरहरूलाई अनुरोध गर्दछौँ।’
नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले अनिवार्य इम्बोस्ड नम्बरको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। संघका अध्यक्ष श्याममणि आचार्यले विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने अक्षर अनिवार्य रुपमा देवनागरी लिपिमा राख्न माग गरेका हुन्।
एवन ग्रेटर नेपाल यातायात प्रालिले सरकारले देवनागरी लिपि नै लोप गराउने उद्देश्यले सवारीसाधानमा अंग्रेजी नम्बर प्लेट राख्न लागेको आरोप लगाउँदै आपत्ति जनाएको छ। उक्त कम्पनीले देवनागरी लिपि जोगाउन अपिल गर्दै सरकारलाई निर्णय सच्याउन माग गरेको छ।