
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले किसानका समस्या समाधान गर्नुपर्ने बताएका छन्। बैठकमा विभिन्न दलका सांसदहरूले समयमा भुक्तानी नपाउनु, मल नपाउने तथा अनुदान कटौती, उत्पादन भएका वस्तुले उचित बजार नपाउनुलगायत समस्याले किसानलाई निराशा बढाएको भन्दै समाधान गर्न सरकारलाई आग्रह गरेका हुन्।
सांसद रामप्रकाश चौधरीले संघ तथा प्रदेशले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि जनताले केही पाउन नसकेको बताए। ‘मधेशका जिल्लाहरूमा यस वर्ष पर्याप्त मात्रामा वर्षा हुन नसक्दा धान उत्पादनसमेत घट्ने देखिन्छ। किसानले ट्युबवेल प्रयोग गर्दा विद्युत् खपत बढेको छ। असार, साउन र भदौमा किसानले प्रयोग गरेको विद्युत्को बिल मिनाहा गरिदिनुपर्छ’, उनले भने, ‘सगरमाथा वन परियोजनाका अवकाशप्राप्त कर्मचारीले उपदानको रकम पाउन सकेका छैनन्। तीन जनाको मृत्यु नै भइसकेको छ। तत्काल ती पीडितको रकम भुक्तानी गरिदिन माग गर्दछु।’
सांसद गंगाराम चौधरीले उखु उत्पादन गर्ने र दूध उत्पादन गर्ने किसानहरू पीडित रहेका बताउँदै आन्दोलनरत किसानका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। समयमा मल नपाउँदा किसानहरू पीडित भएका छन्। ‘किसानको धान खाद्य संस्थानबाट किनियोस्’,उनले भने,‘किसानलाई थप आन्दोलन गर्न बाध्य नबनाइयोस्।’ सांसद डा.अमरेशकुमार सिंहले उखु किसानका समस्या समाधानमा सरकारले चासो नदिएको भन्दै आपत्ति जनाए।
‘सरकारले न मल उपलब्ध गराएको छ न अनुदान। किसानले उचित मूल्य पाउन सकेका छैनन्। आज दुग्ध र उखु किसान सडकमा छन्’, उनले भने,‘किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य निर्धारण गरी प्रोत्साहनको वातावरण बनाउनुपर्छ।’ सांसद दमोदर पौडेल वैरागीले कृषि व्यापार, शिक्षा, प्राकृतिक विपद् व्यवस्थापनमा सहकार्य गर्ने, दुई देशबीच मैत्री सम्बन्ध बढाउने विषयमा नेपाल र चीनबीच भएको सहमतिले सकारात्मक सन्देश दिएको बताए।