सिडेनको अध्यक्षमा झा निर्वाचित

हिमाल प्रेस १५ भदौ २०८२ १५:२१ | Sunday, August 31, 2025
सिडेनको अध्यक्षमा झा निर्वाचित रविभूषण झा

काठमाडौँ- नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा झा सिडेनको अध्यक्षमा निर्वाचित भएका हुन्।

मतदान शनिबार भए पनि अन्तिम परिणाम आइतबार आएको हो। निर्वाचन समितिले साँझ पाँच बजे मतदानको परिणाम घोषणा गर्ने बताइएको छ।

सिडेनका निवर्तमान महासचिव रहेका झा संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए। उनले इतर समूहका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाका उम्मेदवार धनेन्द्र केसीलाई पराजित गरेका हुन्।

झाले १ हजार ३१५ मत पाउँदा केसीले एक हजार दुई मत पाए। कार्यसमितिको अधिकांश पदमा झा प्यानेलका उम्मेदवार निर्वाचित भएका छन्।

उपाध्यक्षमा मदन पुरी विजयी भएका छन्। उनी पनि संस्थापन पक्षका उम्मेदवार हुन्। पुरीले १ हजार २८० मत पाउँदा केसी समूहका सागर शम्शेर शाहीले १ हजार ९ मत पाए। महासचिवमा पनि झा समूहकै सुदर्शन शर्मा विजयी भएका छन्। शर्माले १ हजार १७४ मत ल्याउँदा उनका प्रतिपस्पर्धी भुपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले २३५ मत ल्याएका छन्।

उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित भएका छन्। सिडेनको पदाधिकारी तथा कार्यसमिति सदस्य चयन गर्न सातै प्रदेशमा मतदान भएको थियो।

सिडेनका सदस्यहरूले कोशीको विराटनगर, मधेश प्रदेशको जनकपुर र वीरगञ्ज, बागमतीको काठमाडौँ र हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको लमही र बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमका धनगढीमा मतदान गरेका थिए।

प्रकाशित: १५ भदौ २०८२ १५:२१ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast