
काठमाडौँ- सवारीसाधनमा टाँसिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि हटाउने निर्णयको विरोधमा बुधबार पनि काठमाडौँमा प्रदर्शन भएको छ। देवनागरी लिपिको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो।
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीमा मात्रै लेख्ने निर्णयको विरोधमा विभिन्न संघसंस्था, विभिन्न पार्टीका सांसदहरू, अभियन्ताहरू विभिन्न माध्यमबाट उत्रिएका छन्। सामाजिक सञ्जालमा पनि यसको विरोध भइरहेको छ।
‘जाग नेपाली अभियानले काठमाडौँमा इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुधबार प्रदर्शन गरेको हो। इम्बोस्ड नम्बर जडानका सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै प्रभावित पारिएको र अर्बौँ कमिसनको खेल भएको जाग नेपाली अभियानको भनाइ छ।
जाग नेपालीका संयोजक दीपेश केसीले देवनागरी लिपिलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने काम गर्न खोजिएकाले विरोधमा उत्रिएको बताए।
उनले इम्बोस्ड नम्बर प्लेट जडानका नाममा अर्बौँ भ्रष्टाचार भएको आरोप पनि लगाए। प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, डेटा सुरक्षाको ग्यारेन्टी गरलगायतका प्लेकार्ड देखाएका थिए।
यसअघि असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णयबाट सरकार पछि हटेको थियो। यातायात व्यवस्था विभागले मंगलबार आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सेवाग्राही तथा सवारीधनीहरूलाई अनुरोध गरेको छ। यद्यपि नम्बर प्लेटमा अंग्रेजी भाषा नै प्रयोग गर्ने विषयमा सरकार अडिग रहेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अदालतले लिपिका बारेमा निर्णय दिइसकेको दाबी गर्दै नम्बर प्लेटमा अंग्रेजी भाषाकै प्रयोग हुने बताएका छन्। ‘कतिपय देशले आफ्नो भाषामा नम्बर प्लेट राखेका होलान् तर अधिकांशले अंग्रेजीमा राखेका हुन्छन्। यो विषय सदनमा पनि कुरा उठेर, अदालतमा पनि कुरा उठेर, जसले रिट हाल्नुभएको थियो, त्यसलाई अदालतले खारेज गरिइदिइसकेको छ। त्यही भएर यो टुंगिसकेको विषय हो’, दाहालले मंगलबार बीबीसी नेपालीसँग भनेका थिए।
उनको यो भनाइ सार्वजनिक भएपछि झन् विरोध भएको छ। मन्त्री दाहालको उक्त अभिव्यक्तिबारे टिप्पणी गर्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले भनेका छन्, ‘राष्ट्रिय पोशाकको आवरणमा राष्ट्रको मूल पहिचान राष्ट्रभाषाको चीरहरण गर्ने व्यक्तिको मुख हेर्न लाज लाग्दो छ। नेपाली भाषा हाम्रो पहिचान हो, यसको जगेर्ना हाम्रो दायित्व हो भन्ने कुरा खै बुझेको भाषामारा?’