मल र बीउ उपलब्ध गराउनेलाई भोट : मर्चवारवासी

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:१० | Monday, November 14, 2022
मल र बीउ उपलब्ध गराउनेलाई भोट : मर्चवारवासी

डोटी- आसन्‍न ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारले घरदैलो अभियान तीव्र बनाएका छन्। उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्।

क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन्। मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला विकासका आश्वासन बाँड्दै छन्।

बाटो, सिँचाइका ठूला आयोजना, ठूला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेका उम्मेदवाले मर्चवारका सामान्य मतदाताको मन आकर्षित गर्न सकिरहेका छैनन्। मर्चवारवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमा मल र बीउको अपेक्षा गरेका छन्।

अन्न भण्डारको रुपमा रहेको मर्चवारमा समयमा मल र बीउ उपलब्ध गराउने उम्मेदवारलाई आफूले चयन गर्ने उनीहरुको भनाइ छ। कोटहीमाई गाउँपालिका-६ बोगडीकी ७५ वर्षीया मोहबती हरिजनले मर्चवारमा बर्षेनी मल र बीउको लागि सास्ती भोग्दै आएको बताइन्।

उनले अझै पनि सीमावर्ती भारतीय बजार नौतनवाको भर परेको बताइन्। ‘स्थानीय जनप्रतिनिधि आए केही आराम हुन्छ, हाम्रो लागि काम गर्छन् भन्ने अपेक्षा थियो।’ उनले भने, ‘तर केही भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउँछौँ, मेहनत गरेर रोप्छौँ।’

उनले सरकारले गरिब र पीडितको लागि पठाएको राहत नपाएको गुनासो गरिन्। ‘सरकारले गरिब विपन्नको राहतको लागि भनेर केही सामान पठाइदिन्छ।’ उनले भनिन्, ‘त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाँड्छन, हाम्रो लागि कोही छैन।’ त्यसकारण जसले सहजरुपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छ उसैलाई आफ्नो भोट दिने वृद्धा हरिजनको भनाइ छ।

उनकै भनाइलाई मेल खान्छ मर्चवारी गाउँपालिका-६ बगौलीकी सुनिताकुमारी यादवको पनि। उनीले पनि स्थानीय नेताहरु आफ्नो मान्छे छानीछानी बीउ र मल दिएको गुनासो गरिन्। ‘गहुँ छर्ने बेला भएको छ, वडाले २ बोरा गहुँको बीउ दिने भनेको थियो अहिले चार-पाँच किलो दिन्छु भन्छ, त्यति बीउले हामीले के गर्ने ?’ उनले भनिन्, ‘हामीमाथि चरम भेदभाव भएको छ।’

उनले उम्मेदवार अहिले घरमै आएर विभिन्न आश्वासन दिने गरे पनि जितेर गए पछि भेदभाव गर्ने गरेको आरोप लगाइन्। उनले सबैले मत दिएको कारण सबैलाई एकै नजरले हेर्नुपर्ने धारणा राखिन्।

मर्चवारका उम्मेदवारले यहीकै समस्यालाई ध्यानमा राखेर कृषिलाई ग्राहयता दिनुपर्ने मर्चवारका मतदाताको भनाइ छ। कोटहीमाई गाउँपालिका-५ का कृषक रामअवध पासवानले उम्मेदवालाई ठूला विकासे योजनाभन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेण्डा बनाउन सुझाव दिए।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादव, नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका ओमप्रकाश यादव  लगायतका नेता प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

प्रकाशित: २८ कार्तिक २०७९ ८:१० | Monday, November 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast